Logo

अविरल वर्षाले देशभर सडक सञ्जाल अस्तव्यस्त, प्रमुख राजमार्ग प्रभावित



काठमाडौं, ३ साउन । देशभर जारी अविरल वर्षाका कारण बाढी र पहिरोले विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक सञ्जाल प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने उच्च जोखिमलाई मध्यनजर गर्दै केही सडकमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ।

नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा अर्को सूचना जारी नभएसम्म बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै सवारी सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ।

यस्तै, कान्ति लोकपथमा पनि पहिरो र बाढीको जोखिमका कारण अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ।

वर्षाका कारण इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा लेदो र हिलो जम्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुंगेखोलामा पहिरोसँगै ठूला ढुंगा खसेपछि सालझण्डी–ढोरपाटन सडकखण्ड पनि अवरुद्ध बनेको छ।

यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नं. २ कोदारी क्षेत्रमा पहिरोसँगै लेदो, ढुंगा र माटो खसेपछि अरनिको राजमार्ग प्रभावित भएको छ। बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा खसेको पहिरोले कालीगण्डकी करिडोरमा पनि यातायात अवरुद्ध भएको छ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ घुमाउने, वडा नं. ८ गिम्दी तथा वडा नं. ९ बिरुवाडाँडा र पिन्थली क्षेत्रमा खसेका पहिरोका कारण बीपी राजमार्गको सो खण्ड पूर्ण रूपमा बन्द भएको छ।

सडक विभाग र सुरक्षा निकायले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखे पनि निरन्तर वर्षा र पहिरो खस्ने क्रम नरोकिएकाले अत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न तथा यात्रा गर्नुपरे सडकको पछिल्लो अवस्था बुझेर मात्रै निस्कन नेपाल प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्