Logo

आज देशभर वर्षाको सम्भावना, केही ठाउँमा चट्याङ र हिमपात



काठमाडौं, २७ साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले मौसम बदलीसँगै वर्षा हुने पूर्वानुमान गरिएको हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लागेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी र मधेश प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ । यी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

तराईका केही क्षेत्रमा समेत वर्षाको सम्भावना रहेको छ । मधेश तथा कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

राति देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका हिमाली–पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी पछिल्लो सूचना हेरेर मात्रै यात्रा तथा अन्य गतिविधि गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्