Logo

इरानी अर्थतन्त्रको ५ प्रमुख क्षेत्रमा अमेरिकाले लगायो प्रतिबन्ध



काठमाडौं, ९ भाद्र । अमेरिकाले इरानको अर्थतन्त्रका पाँचवटा प्रमुख क्षेत्रमा प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले इरानले अन्य देशहरूमा आफ्ना आर्थिक गतिविधिहरू सञ्चालन गर्न प्रयोग गर्ने क्रिप्टोकरेन्सी, प्रविधि, सुन, उड्डयन र सामुद्रिक ढुवानीमा प्रतिबन्ध लगाएको हो । अमेरिकाले ती क्षेत्रहरूमार्फत इरानको राजस्व र अन्तर्राष्ट्रिय व्यापारलाई नियन्त्रण गर्ने लक्ष्य राखेको हो ।

यस्तै, अमेरिकाले कुनै मुलुकले इरानसँग व्यापार गरी आर्थिक लाभ हासिल गरे अमेरिकाले उक्त मुलुकमाथि प्रतिबन्ध लगाउने र त्यसलाई अमेरिकी डलरमा आधारित वित्तीय प्रणालीबाट अलग समेत गर्ने तयारी गरेको छ । अर्थात इरानलाई सहयोग गर्ने कुनै पनि मुलुकले अमेरिकी डलर प्रयोग गर्न पाउने छैन । तर कुन–कुन देशहरूमाथि सेकेन्डरी स्यान्क्शन्स (दोस्रो चरणको प्रतिबन्ध) लागू हुनेछ भन्नेबारे अमेरिकाले अहिलेसम्म स्पष्ट पारेको छैन । चीन, टर्की र संयुक्त अरब इमिरेट्स (युएई) इरानका प्रमुख व्यापारिक साझेदार रहेको छ ।

अमेरिकाले चिनियाँ बैंकहरूलाई पनि चेतावनी दिएको छ । तर चीनसँग कसरी व्यवहार गर्ने भन्नेबारे अमेरिकाले कुनै योजनाबारे खुलाएको छैन । चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । अमेरिका अनुसार इरानसँग व्यापार गर्ने जुनसुकै संस्थाले अनिवार्य रूपमा अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्नेछ ।

नयाँ प्रतिबन्धहरू सबैमा तत्कालै लागू हुने छैन । अमेरिकाले केही कम्पनी र व्यवसायीहरूलाई आफ्नो कार्यदिशा समायोजन गर्न छोटो अवधिको छुट (ग्रेस पिरियड) दिने तयारी गरेको छ ।

यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अपरेसन इकोनोमिक आउटकास्ट सुरु गरिएको बताएका छन् । उनका अनुसार अमेरिकी नयाँ रणनीतिको उद्देश्य इरानको अर्थतन्त्रमा हुने आर्थिक प्रवाहलाई रोक्नु हो ।

यो इरान र उसका सहयोगी राष्ट्रहरूविरुद्धको एक अभियान रहेको उनले उल्लेख गरेका छन् ।

इरानी सरकार आर्थिक रूपमा अलगथलग नभएसम्म अमेरिकाले यो क्रम जारी राख्ने बेसेन्टले बताए । बेसेन्टले इरानसँग आर्थिक कारोबार जारी राख्ने कुनै पनि मुलुक वा कम्पनीमाथि कारबाहीको जोखिम बढेको चेतावनी पनि दिए ।

अमेरिका र इरानबीचको तनावका बीच स्ट्रेट अफ हर्मुज एक महत्वपूर्ण मुद्दा बनेको छ । विश्वको तेल व्यापारको ठूलो हिस्सा यही समुद्री मार्ग भएर हुने गर्दछ ।

अमेरिका र इरानबीचको द्वन्द्व सुरु भएको लामो समय बितिसक्दा पनि यो मार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा दुई देशबीच अझै वार्ता हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्