काठमाडौं, ३ भाद्र । पश्चिम बंगालको राजधानी कोलकाताको नयाँ बजार क्षेत्रमा रहेको एक होटलमा बुधबार बिहान आगलागी हुँदा एक बच्चासहित कम्तीमा नौ जनाको मृत्यु भएको छ।
अस्पताल स्रोतले ती व्यक्तिहरूको मृत्यु निसासिएर भएको बताएको छ। अन्य ६ जनाको अवस्था गम्भीर छ। उनीहरू एसएसकेएम मेडिकल कलेजमा उपचाररत छन्।
समाचार एजेन्सी एएनआईले मृतकमा उपचारका लागि आएका बंगलादेशी नागरिकहरू पनि रहेको उल्लेख गरेको छ। यद्यपि प्रहरीले मृतकहरूको पहिचान पुष्टि गरेको छैन।
बुधबार बिहान २ बजेतिर होटलको तेस्रो तलामा आगलागी भएको हो। आगो बिस्तारै नजिकैका भवनमा पनि फैलियो थियो।
आगलागीको जानकारी पाएपछि नयाँ बजार प्रहरी चौकीका प्रहरी, दमकल टोलीसहित घटनास्थलमा पुगे। होटलभित्र फसेकाहरूको उद्धार सुरु गरेको थियो।
अग्नि नियन्त्रकका एक अधिकारीले प्रारम्भिक अनुमानअनुसार आगलागी सर्ट सर्किटका कारण भएको हुन सक्ने बताएका छन्, तर अनुसन्धानले मात्र वास्तविक कारण पत्ता लगाउने उनको भनाइ छ।
प्रहरीले होटल प्रबन्धकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिहेको छ।
यसअघि सोमबार पनि वीरभूम जिल्लाको तारापीठमा रहेको एक होटलमा आगलागी हुँदा नौ जनाको मृत्यु भएको थियो।






