Logo

फ्लाई दुबई घटना : सहपाइलटद्वारा पाइलटमाथि चक्कु प्रहार, यात्रुको समेत सहयोगमा टर्‍यो ठूलो दुर्घटना



काठमाडौं, १५ असोज । दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाइदुबईको विमान ककपिटभित्र भएको हिंसात्मक घटनामा विमान ठूलो दुर्घटनामा पर्नबाट बचेको छ । उडानका क्रममा सहपाइलटले कप्तानमाथि चक्कुले आक्रमण गरेको र विमानको नियन्त्रणमा समस्या उत्पन्न भएपछि यात्रु तथा चालक दलका सदस्यले हस्तक्षेप गरी अवस्था नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

फ्लाइदुबईको उडान नम्बर एफजेड १०७३ मा बुधबार भएको घटनापछि विमानलाई गन्तव्य तेल अभिभ नपुर्‍याई साउदी अरबको तबुक विमानस्थलतर्फ मोडिएको थियो। विमान त्यहाँ सुरक्षित अवतरण गरेको र सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको फ्लाइदुबईले पुष्टि गरेको छ।

घटनाका क्रममा विमानले पहिले ‘७७००’ र त्यसपछि ‘७५००’ आपत्कालीन संकेत प्रसारण गरेको थियो। ७७०० सामान्य आपत्कालीन अवस्था जनाउने कोड हो भने ७५०० विमानमा गैरकानुनी हस्तक्षेप भएको संकेतका रूपमा प्रयोग हुन्छ। यही संकेतका कारण केही समय विमान अपहरणमा परेको हुनसक्ने आशंका गरिएको थियो।

उडानको तथ्यांकअनुसार विमान करिब ३४ हजार फिटको उचाइमा रहेकामा अचानक तीव्र गतिमा तल झरेको थियो। ३० सेकेन्डभन्दा कम अवधिमा विमानले करिब १४ हजार फिट उचाइ गुमाएको थियो। त्यसपछि विमानको दिशा परिवर्तन गरी तबुकतर्फ लगिएको हो।

पछिल्लो विवरणअनुसार ककपिटमा भएको झडपका क्रममा कप्तान घाइते भएका थिए। यात्रु तथा चालक दलका सदस्यले ककपिटमा प्रवेश गरेर सहपाइलटलाई नियन्त्रणमा लिन सहयोग गरेको बताइएको छ। त्यसपछि विमानलाई सुरक्षित रूपमा साउदीमा अवतरण गराइएको थियो। घटनामा संलग्न भनिएका सहपाइलटलाई साउदी अधिकारीहरूले नियन्त्रणमा लिएका छन्।

भारतीय सञ्चारमाध्यमले घाइते कप्तानको नाम स्मित मच्छर भएको जनाएका छन्। उनी सन् २०२२ मा फ्लाइदुबईमा आबद्ध हुनुअघि करिब एक दशक स्पाइस जेटमा कार्यरत रहेको रिपोर्टमा उल्लेख छ। उनी बोइङ सेभेन थ्री सेभेन सिरिजका विमान उडाउने अनुभवी पाइलट भएको विवरणसमेत सार्वजनिक भएको छ।

घटनाको कारण र सहपाइलटले कप्तानमाथि आक्रमण गर्नुको उद्देश्यबारे भने अझै अनुसन्धान भइरहेको छ। इजरायली अधिकारीहरूले घटनालाई सम्भावित आतंकवादी आक्रमणको कोणबाट समेत अनुसन्धान गरिरहेको छ। विमानमा रहेका सबै यात्रु सुरक्षित भएपछि उनीहरूलाई अर्को विमानमार्फत तेल अभिभ पठाउने व्यवस्था फ्लाइदुबईले अघि बढाएको छ। एयरलाइन्सका अनुसार घटनाले उसको अन्य नियमित उडान सञ्चालनमा भने असर पारेको छैन।

प्रतिक्रिया दिनुहोस्