काठमाडौं, १८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको टुँडिखेलस्थित खुलामञ्चमा सुरु हुँदैछ। दिउँसो २ बजे हुने उद्घाटन समारोह पार्टी सभापति गगनकुमार थापाले गर्ने कार्यक्रम छ।
नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले निर्वासनबाट स्वदेश फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलमै महाधिवेशन आयोजना हुन लागेको हो। यही टुँडिखेलबाट कांग्रेसका अर्का संस्थापक नेता गणेशमान सिंहले २०४६ सालको जनआन्दोलनको सफलताको उद्घोष गरेका थिए।
उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेताका साथै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ। महाधिवेशनको मूल नारा ‘ऊर्जाशील कांग्रेस, नयाँ सङ्कल्प’ तय गरिएको छ।
महाधिवेशनमा देश तथा विदेशबाट करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ। पार्टीका अनुसार ४४ हजारभन्दा बढी नयाँ पुस्ताका युवाहरू पार्टीको विभिन्न जिम्मेवारीमा आएका छन् भने उनीहरूसहित चयन भएका ७ हजारभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछन्।
यसपटक ३५ वर्षमुनिका युवा, लोकतन्त्र सेनानी, श्रमिक तथा पेसागत समूह र विदेशमा रहेका नेपालीलाई समेत पहिलोपटक केन्द्रीय समितिमा प्रतिनिधित्वको अवसर दिइने कांग्रेसले जनाएको छ।
महाधिवेशनबाट कांग्रेसले पार्टीभित्र विधि र पद्धति निर्माणसँगै नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ। प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा प्रस्तुत हुने नयाँ सङ्कल्पबारे गहन छलफल गरी त्यसको कार्यान्वयनको खाका तयार गरिनेछ।
महाधिवेशन प्रतिनिधिको दर्ता शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। प्रतिनिधिले सहभागिता दर्ताबापत ३ हजार ५ सय रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमाथि भूगोलका आधारमा तीनवटा हलमा समूहगत छलफल गरिनेछ।
निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ। उम्मेदवारी मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ भने निर्वाचन कार्यक्रम आवश्यकताअनुसार परिमार्जन हुनसक्ने जनाइएको छ।
महाधिवेशनमा सहभागी हुने निजी कार तथा मोटरसाइकलका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र पुरानो बसपार्क क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ। ठूला बसका लागि माइतीघरदेखि भद्रकाली खण्डको एक लेनमा पार्किङ व्यवस्था मिलाइएको छ।
महाधिवेशनसम्बन्धी सूचना तथा गतिविधि सार्वजनिक गर्न खुलामञ्चमै मिडिया सेन्टर स्थापना गरिएको छ। कांग्रेसले यस महाधिवेशनलाई पार्टीको इतिहाससँगै भविष्यको दिशासमेत तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।






