काठमाडौं, १७ असार । अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकताको अधिकार सीमित गर्ने कार्यकारी आदेश खारेज गरेको छ।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन अमेरिकामा अवैध रूपमा वा अस्थायी रूपमा बसोबास गरिरहेका आमाबाबुबाट जन्मिएका शिशुलाई स्वतः अमेरिकी नागरिकता नदिने आदेश जारी गरेका थिए। उक्त आदेशविरुद्ध विभिन्न तल्ला अदालतले रोक लगाएका थिए।
मंगलबार सर्वोच्च अदालतले ६–३ को बहुमत निर्णय गर्दै जन्मसिद्ध नागरिकताको संवैधानिक व्यवस्थालाई कायम राखेको हो।
प्रधानन्यायाधीश जोन रोबर्ट्सको नेतृत्वमा आएको निर्णयमा अमेरिकामा जन्मिएका बालबालिका उनीहरूका आमाबाबुको आप्रवासन अवस्थाभन्दा अलग रूपमा संविधानअनुसार जन्मकै आधारमा अमेरिकी नागरिक हुने उल्लेख गरिएको छ।
अमेरिकाको संविधानको १४औँ संशोधनले जन्मसिद्ध नागरिकताको अधिकार सुनिश्चित गरेको छ। अमेरिका जन्मका आधारमा स्वतः नागरिकता प्रदान गर्ने विश्वका करिब ३० देशमध्ये एक हो।






