Logo

ट्रम्पको बेइजिङ भ्रमण: सी जिनफिङसँग आज उच्चस्तरीय शिखर वार्ता



काठमाडौं, ३१ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिने भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सी जिनफिङ को निमन्त्रणामा उनी बुधबार साँझ बेइजिङ पुगेका हुन् ।

आज बेइजिङमा दुवै राष्ट्रपतिबिच शिखर वार्ता हुने कार्यक्रम रहेको छ । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकका शीर्ष नेताबिच हुन लागेको यस वार्तालाई अन्तर्राष्ट्रिय समुदायले अत्यन्त महत्त्वका साथ हेरिरहेको छ ।

भ्रमणका क्रममा ट्रम्पले व्यापार, प्रविधि र भूराजनीतिक तनाव व्यवस्थापनलाई नयाँ दिशामा लैजाने संकेत गरेका छन् । उनले चीनलाई अमेरिकी व्यवसाय र प्रविधिका लागि अझ खुला बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले सी जिनफिङलाई “असाधारण दृष्टिका नेता” भन्दै चीनलाई अमेरिकी उद्यमका लागि अझ खुला बनाउन आग्रह गरेका छन् । यस भ्रमणलाई ट्रम्प प्रशासनले कूटनीतिक भेटसँगै आर्थिक तथा रणनीतिक सम्बन्ध पुनः सन्तुलन गर्ने अवसरका रूपमा लिएको देखिन्छ ।

बेइजिङले पनि अमेरिका–चीन सम्बन्ध सुधारसँगै क्षेत्रीय स्थिरता कायम गर्न कूटनीतिक प्रयास विस्तार गरिरहेको छ । पश्चिम एसियामा बढ्दो तनाव घटाउन चीनले मध्यस्थताको भूमिका बढाउन खोजेको संकेत देखिएको छ ।

ट्रम्पको सन् २०१७ पछिको यो पहिलो चीन भ्रमण हो । उनको सम्मानमा बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा राजकीय भोज, चियाको आतिथ्यता तथा उच्चस्तरीय समारोह आयोजना गरिने कार्यक्रम रहेको छ ।

आज हुने शिखर वार्तामा दुर्लभ खनिज निर्यात, कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा प्रतिस्पर्धा, व्यापार असन्तुलन र प्रविधि सुरक्षासम्बन्धी विषय प्रमुख एजेन्डा रहने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्