काठमाडौं, १६ जेठ । खोटाङ र ओखलढुङ्गाको सीमास्थित रभुँवाघाटमा निर्माण प्रस्तावित ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने भएको छ। सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा उक्त आयोजनालाई प्राथमिकतासाथ समावेश गरेपछि निर्माण प्रक्रिया अगाडि बढ्ने निश्चित भएको हो।
अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत आयोजनाको निर्माणका लागि ठेक्का आह्वान गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।
खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सीमामा पर्ने रभुँवाघाट क्षेत्रमा निर्माण हुने यो बहुउद्देश्यीय आयोजना लामो समयदेखि चर्चामा रहेको थियो। करिब ४३ वर्षअघि यसको प्रारम्भिक अध्ययन गरिएको थियो भने विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाले लगानी चासो देखाएका छन्।
आयोजनाका लागि खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा पर्ने करिब २५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने अनुमान गरिएको छ। तीमध्ये झण्डै २० हजार रोपनी निजी स्वामित्वको जग्गा रहेको बताइएको छ। जग्गा मुआब्जा निर्धारणमा ढिलाइ हुँदा आयोजना प्रभावित क्षेत्रका बासिन्दामा अन्योल बढेको थियो।
सरकारले आयोजना क्षेत्रभित्र पर्ने जग्गाको किनबेच रोक लगाए पनि मुआब्जा निर्धारण प्रक्रिया लामो समयसम्म टुंगोमा नपुग्दा स्थानीयले असन्तुष्टि जनाउँदै आएका थिए। बजेटमा आयोजना समावेश भएपछि भने प्रभावित क्षेत्रका बासिन्दाले परियोजना कार्यान्वयनप्रति आशा व्यक्त गरेका छन्।
राष्ट्रिय गौरवको आयोजनाको सूचीमा रहेको दूधकोशी आयोजनाबाट प्रभावित हुने क्षेत्रका जग्गाको मूल्याङ्कनका लागि चलनचल्तीको बजार मूल्य, बैंक तथा वित्तीय संस्थाको मूल्याङ्कन, स्थानीय कारोबार मूल्य र सरकारी दररेटलाई आधार बनाउने तयारी गरिएको छ।
प्रारम्भिक अध्ययनअनुसार आयोजना निर्माणका क्रममा १६२ घरपरिवार पूर्ण रूपमा विस्थापित हुनेछन् भने ९८८ परिवार आंशिक रूपमा प्रभावित हुनेछन्। साथै, करिब एक हजार ५० परिवारको खेतीयोग्य जमिन डुबानमा पर्ने अनुमान गरिएको छ।
आयोजनाअन्तर्गत रभुँवाघाटमा २२० मिटर अग्लो बाँध निर्माण गरी जलाशय बनाइनेछ। त्यहाँ संकलित पानी सुरुङमार्फत खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ धितुङ क्षेत्रमा रहेको विद्युत्गृहमा पुर्याएर विद्युत् उत्पादन गरिने योजना छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार आयोजनाबाट वार्षिक करिब ३ अर्ब ४४ करोड ३० लाख युनिट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ।
विद्युत् उत्पादनसँगै जलाशय क्षेत्रमा जलपर्यटन, डुङ्गा सयर, माछापालन तथा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ। विशेषगरी हलेसी र सगरमाथा भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी जलाशयमा पर्यटकीय गतिविधि सञ्चालन गर्ने सम्भावना पनि औंल्याइएको छ।








