काठमाडौं, ५ साउन । देशभर लगातारको वर्षा, बाढी र पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयद्वारा जारी गरिएको विवरणअनुसार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका विभिन्न खण्डमा सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित बनेको छ।
कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी मात्र सुचारु रहेको छ भने अर्को वैकल्पिक बाटो समेत उपलब्ध छ । त्यस्तै, इलामको इलाम नगरपालिका–९ राजुदवालीस्थित मेची राजमार्ग र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ माम्खास्थित मध्यपहाडी लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
बागमती प्रदेशतर्फ, काभ्रेको खुर्कोट–नेपालथोक–कत्तुञ्जेबेँसी चल्ने विपि राजमार्ग सम्भावित बाढीका कारण प्रभावित भएको छ। यस खण्डमा राति १८:०० बजे देखि बिहान ०४:०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालन रोकिएको छ भने बिहान ०४:०० देखि साँझ १८:०० बजेसम्म भने स्थितिको विचार गरी सवारीसाधन सुचारु हुने व्यवस्था मिलाइएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरीकिलो (तातोपानी जाने बाटो) र वडा नं २ कोदारी क्षेत्रमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। मकवानपुरको हेटौँडा–टिस्टुम–बागमती–ललितपुर जोड्ने कान्तिलोकपथमा सम्भावित बाढी तथा पहिरोका कारण रात्रिकालीन समयमा (साँझ १७:०० देखि बिहान ०५:०० बजेसम्म) सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । रसुवाको गोसाइकुण्ड गाउँपालिका–६ बोकेजुन्डास्थित पासाङ ल्हामु सडक खण्ड भने पहिरो पछि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
गण्डकी प्रदेशअन्तर्गत बागलुङको जैमिनी नगरपालिका–८ बेलगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर सडक खण्ड पूर्ण रूपमा बन्द रहेको छ। त्यसैगरी, सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित शैल्यशिखर नगरपालिका–६ पनेबाँज र मालिकार्जुन गाउँपालिका–८ ऐरीछिनामा गएको पहिरोका कारण महाकाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ।
सडक अवरुद्ध भएका स्थानहरूमा यातायात सुचारु गर्ने प्रयास भइरहेको सम्बन्धित निकायले जनाएका छन्। यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र सावधानी अपनाउन अनुरोध गरिएको छ।






