काठमाडौं, २० वैशाख । सरकारले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ। सहरी विकास मन्त्रालयले यस्ता नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रंगशालामा उपस्थित भई दर्ता गर्न अनुरोध गरेको हो।
मन्त्रालयका अनुसार वास्तविक भूमिहीन तथा आर्थिक रूपमा कमजोर भएर स्व–व्यवस्थापन गर्न नसक्ने नागरिकहरूले उक्त केन्द्रमा उपस्थित भई सरकारबाट उपलब्ध गराइने सेवा र सुविधाको लाभ लिन सक्नेछन्।
सरकारले वास्तविक सुकुमबासी र भूमिहीनलाई प्राथमिकतामा राखेर उनीहरूको समस्या समाधान गर्न प्रयास गरिरहेको जनाएको छ। साथै, नागरिकहरूको सुरक्षित, व्यवस्थित र दीर्घकालीन पुनर्स्थापनाका लागि आफू प्रतिबद्ध रहेको मन्त्रालयले स्पष्ट पारेको छ।





