
पूर्व मिस नेपाल आश्मा केसी र अभिनेत्री नीति शाहले रसुवाका बाढीपीडितका लागि आर्थिक सहयोगसहित राहत सामग्री उपलब्ध गराएका छन्।
उनीहरूले आफ्नै रकमसँगै साथीभाइ, परिवार तथा चिनजानका व्यवसायीहरूबाट करिब १० लाख रुपैयाँ संकलन गरी ५१ वटा टेन्ट सहयोग गरेका हुन्।
त्यसैगरी, २०० कार्टुन चाउचाउसहित अन्य अत्यावश्यक राहत सामग्रीसमेत वितरण गरिएको छ। टेन्ट, खाद्यान्न तथा अन्य राहत सामग्री गरी कुल करिब १२ देखि १५ लाख रुपैयाँ बराबरको सहयोग गरिएको जनाइएको छ।
एउटा टेन्टमा करिब १० देखि १५ जनासम्म बस्न सक्ने भएकाले ५१ वटा टेन्टबाट करिब ५०० देखि ६०० जनासम्मलाई अस्थायी आश्रय उपलब्ध गराउन सकिनेछ।
बाढीका कारण घरबाहिर बस्न बाध्य भएका तथा तत्काल अस्थायी आश्रयको आवश्यकता रहेका परिवारलाई लक्षित गरी उक्त राहत सहयोग गरिएको हो। विपद्को कठिन समयमा गरिएको यस सहयोगले प्रभावित परिवारलाई तत्काल राहत र आश्रयमा सहयोग पुग्ने विश्वास गरिएको छ।






