काठमाडौं, २४ भाद्र । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जेन–जी’ आन्दोलनको एक वर्ष पुगेको अवसरमा वक्तव्य जारी गर्दै भदौ २४ गते भएको हिंसा, आगजनी तथा तोडफोडलाई लोकतान्त्रिक इतिहासकै कालो दिनका रूपमा चित्रण गरेका छन्।
आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दाहालले युवाको जायज असन्तुष्टिलाई सम्बोधन गर्नुको सट्टा राज्यले दमनको बाटो रोजेकाले परिस्थिति उग्र बनेको बताएका छन्।
उनका अनुसार राज्यको दमनबाट सिर्जित परिस्थितिको फाइदा उठाउँदै घुसपैठिया तथा संदिग्ध तत्वहरूले आन्दोलनलाई अपहरण गरी सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत ऐतिहासिक तथा संवेदनशील संरचनामा आगजनी र लुटपाट गरेका थिए।
प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि तोडफोड तथा लुटपाट जारी रहनुले घटनाका पछाडि संगठित समूहको संलग्नता रहेको पुष्टि हुने दाहालको दाबी छ। उनले घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेका छन्।
राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्दै दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन उनले सरकारसँग आग्रह गरेका छन्।
त्यस्तै, आन्दोलनपछि गठन भएको नयाँ सरकारले संविधान संशोधनका नाममा संविधानको मूल भावना, समावेशिता, संघीय लोकतान्त्रिक गणतन्त्र र सामाजिक न्यायजस्ता उपलब्धिलाई कमजोर पार्न खोजेको आरोप पनि दाहालले लगाएका छन्।
उनले लोकतन्त्रका कमजोरी सुधार्ने उपाय लोकतन्त्र समाप्त गर्नु नभई त्यसलाई अझ उत्तरदायी र पारदर्शी बनाउनु भएको उल्लेख गर्दै संविधानका आधारभूत मान्यतामा फेरबदल गर्ने वा निरंकुशताको बाटो खोल्ने प्रयासको प्रतिवाद गर्ने बताएका छन्।
वर्तमान सरकारका कारण नागरिकमा पुनः निराशा बढेको, महँगी बढेको, अर्थतन्त्र शिथिल बनेको र युवाहरू विदेशिन बाध्य भएको दाबी गर्दै दाहालले जनविरोधी प्रवृत्तिविरुद्ध शान्ति र लोकतन्त्रप्रेमी शक्तिहरूलाई एकताबद्ध हुन अपिल गरेका छन्।






