Logo

मनसुनको प्रभाव कायमै, कोशीदेखि सुदूरपश्चिमसम्म भारी वर्षाको सम्भावना



काठमाडौं, २४ साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ ।

हाल कोशी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ । मधेस प्रदेशसहित बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

दिउँसो धेरै क्षेत्रमा वर्षा

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा लुम्बिनीका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

राति पनि वर्षाको क्रम जारी रहने

आज राति पनि देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा र हिमपात हुनसक्नेछ ।

पहाडी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा धेरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस र कोशी प्रदेशका तराई भूभागका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्नेछ ।

रातिको समयमा कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी एवं तराई क्षेत्रमा केही स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

बाढी–पहिरोको जोखिम, सतर्क रहन आग्रह

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले सम्भावित प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना हेरेर आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्