Logo

मनसुनी वायुको प्रभाव कायम: बागमती, गण्डकी, कर्णाली र लुम्बिनीमा भारी वर्षाको सम्भावना



काठमाडौं, ३० साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र सुदूरपश्चिमका केही स्थानमा धेरै भारी वर्षा हुनसक्ने भएकाले बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढेको छ।

हाल देशभर सामान्यतया बादल लागेको छ। कर्णालीका धेरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ।

आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी र कर्णालीका पहाडी भू–भाग तथा लुम्बिनीका पहाडी र तराई क्षेत्रमा केही स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

राति पनि हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहनेछ। बागमती र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ।

विशेषगरी कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने भएकाले बाढी, पहिरो, भू–क्षय र गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ।

वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्लो सूचना हेर्न महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्