काठमाडौं, १९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक स्थल खाली गर्ने नाममा सरकारले हतारमा मन्दिर, विद्यालय तथा बौद्ध गुम्बा भत्काइएकोप्रति आपत्ति जनाएका छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै यस्तो कदम कतैबाट पनि उचित नभएको बताएका हुन्।
लिङ्देनले मन्दिर, विद्यालय र गुम्बा जस्ता संरचना सार्वजनिक स्थलमै रहने विषय सर्वविदित भएको उल्लेख गर्दै तिनको संरक्षणबिना हटाउने कार्यले जनआस्थामाथि चोट पुगेको बताएका छन्।
‘सार्वजनिक स्थल खाली गर्ने नाममा अति हतारमा मन्दिर, स्कूल र बुद्ध जयन्तीकै दिन बौद्ध गुम्बा भत्काइनु कतैबाट उचित होइन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्दिर, स्कूल, गुम्बा जस्ता सार्वजनिक संस्थाहरू सार्वजनिक स्थलमै हुन्छन् भन्ने सबैको जानकारीको विषय हो।’ उनले मानिसको जीवन सहज बनाउनका लागि विकास हुनुपर्ने बताउँदै जीवनलाई नै जोखिममा पार्ने गरी विकास गर्न नहुने स्पष्ट पारेका छन्।
लिङ्देनले मानिसको सम्पत्तिभन्दा आस्था माथिको आक्रमण खतरनाक हुने बताएका छन्। साथै उनले इतिहास, धर्म र परम्पराको संरक्षण गर्दै निरन्तरता दिने किसिमको विकास मात्रै दिगो र स्थिर हुने उल्लेख गर्दै सरकारलाई यसतर्फ ध्यान दिन आग्रह गरेका छन्। साथै, उनले यस्तो कार्यअघि प्रधानमन्त्री शाहको पर्याप्त गृहकार्य नभएको टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सार्वजनिक स्थल खाली गर्ने नाममा अति हतारमा मन्दिर, स्कूल र बुद्ध जयन्तीकै दिन बौद्ध गुम्बा भत्काइनु कतैबाट उचित होइन। मन्दिर, स्कूल, गुम्बा जस्ता सार्वजनिक सँस्थाहरु सार्वजनिक स्थलमै हुन्छन् भन्ने सबैको जानकारीको विषय हो। कसैले आफ्नो छानो गुमेको दृश्य हेर्न नसकेर जीवननै गुमाए। विकास जीवनका लागि हुनुपर्छ…. जीवन विकासका लागि होइन। मानिसको सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक हुन्छ। इतिहास,धर्म,परम्पराको संरक्षण गर्दै गरिने निरन्तरता सहितको विकास नै दिगो र स्थिर पनि बन्छ यसतर्फ सरकारको ध्यान पुगोस्। गृहकार्य पुगेन #BalenSaha’





