Logo

मेटा र रिलायन्स मिलेर भारतमा एआई डाटा सेन्टर बनाउने



काठमाडौं, २८ जेठ । कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग विश्वभर तीव्र रूपमा बढिरहेका बेला फेसबुकको मातृ कम्पनी मेटा र भारतको रिलायन्स इन्डस्ट्रिजले गुजरातको जामनगरमा एआई–सक्षम डाटा सेन्टर बनाउने सम्झौता गरेका छन् ।

यो मेटाको भारतमा बन्न लागेको पहिलो एआई–केन्द्रित डाटा सेन्टर हुनेछ । दुवै कम्पनीले हिजो सार्वजनिक गरेको जानकारीअनुसार यो डाटा सेन्टरले जेनेरेटिभ एआई सेवा सञ्चालनका लागि आवश्यक उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार उपलब्ध गराउनेछ ।

भारतमा डिजिटल सेवा, क्लाउड कम्प्युटिङ र एआईको माग तीव्र रूपमा बढ्दै गएपछि यस्तो लगानी गरिएको हो । रिलायन्सले आउँदो दुई वर्षभित्र १६८ मेगावाट क्षमताको डाटा सेन्टर निर्माण गर्नेछ । मेटाले त्यसबाट आवश्यक कम्प्युटिङ क्षमता भाडामा लिएर आफ्ना एआई सेवा सञ्चालन गर्नेछ ।

मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले यो साझेदारीलाई भारतमा कम्पनीको पहिलो एआई–सक्षम डाटा सेन्टर निर्माणको महत्त्वपूर्ण कदम भएको बताउनुभएको छ । एक अर्बभन्दा बढी इन्टरनेट प्रयोगकर्ता रहेको भारतमा डाटा भण्डारण, क्लाउड सेवा र एआई प्रविधिको माग तीव्र रूपमा बढिरहेको छ ।

त्यसैले विश्वका ठूला प्रविधि कम्पनीहरू र भारतीय उद्योग समूहहरूले डाटा सेन्टर क्षेत्रमा ठूलो लगानी गरिरहेका छन् । यसअघि गुगल र अमेजनले पनि भारतमा आफ्ना क्लाउड पूर्वाधार विस्तार गरिसकेका छन् । विश्लेषकहरूका अनुसार मेटा–रिलायन्सको यो परियोजनाले भारतलाई विश्वव्यापी एआई र डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा अझ बलियो स्थान दिलाउन मद्दत गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्