Logo

लोकतन्त्रको रक्षाका लागि संयुक्त सङ्घर्ष आवश्यक : ओली



काठमाडौं, १६ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि सबै लोकतन्त्रवादी,  तथा देशभक्त शक्तिबीच कार्यगत एकता गरी संयुक्त सङ्घर्षमा अघि बढ्नुपर्ने बताएका छन्।

राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान राजनीतिक अवस्थाविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।

उनले अहिले पार्टी एकताको सम्भावना नरहेको भन्दै त्यसबारे भ्रममा नपर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। समूहगत वा संस्थागत पार्टी एकता नगर्ने स्पष्ट पार्दै एमालेमा प्रवेश गर्न चाहने व्यक्ति वा समूहलाई भने खुला रूपमा स्वागत गरिने बताए।

अध्यक्ष ओलीले विगतका पार्टी एकतामा सिद्धान्तभन्दा स्वार्थ, गठजोड र राजनीतिक दाउपेच हाबी भएको टिप्पणी गरे। उनले पार्टी एकता सफल हुन वैचारिक स्पष्टता र राजनीतिक इमानदारी आवश्यक हुने धारणा राखे।

उनले गत भदौ २३ र २४ गते भएका घटनाबारे पनि टिप्पणी गर्दै ती घटनालाई वैधानिकता दिन खोजिएको आरोप लगाए। गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमा गोली कसले चलायो र सुरक्षा संयन्त्र किन प्रभावकारी हुन सकेन भन्ने विषय समेटिएको नदेखिएको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे।

ओलीले ती घटनालाई संविधान र लोकतन्त्रमाथिको आक्रमणको संज्ञा दिँदै त्यसलाई युवा विद्रोह वा आन्दोलनका रूपमा व्याख्या गर्न नहुने बताए।

पार्टी पुनर्गठनको सन्दर्भमा उनले निष्क्रिय रहेका पार्टी कमिटीलाई पुनर्गठन गरी सक्रिय बनाइने जानकारी दिए। साथै पार्टीभित्र अझ सुदृढ एकता कायम गर्दै संगठनलाई थप मजबुत बनाउन नेता–कार्यकर्ताबाट सुझाव दिन पनि आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्