काठमाडौं, ४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लाई पुनः पार्टी सदस्यता प्रदान गरेको छ ।
भक्तपुरको गुन्डुस्थित अध्यक्ष केपी शर्मा ओली को निवासमा बसेको सचिवालय बैठकले यसअघि केन्द्रीय समितिले गरेको निर्णय उल्ट्याउँदै भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो ।
एमाले केन्द्रीय समितिको २०८२ साउन ५–७ गतेको बैठकले भण्डारीको सदस्यता रोक्ने निर्णय गरेको थियो । सचिवालयले उक्त निर्णय सच्याउँदै उनलाई पुनः पार्टीमा सक्रिय बनाउने बाटो खोलेको हो ।
यसअघि आइतबार आयोजित ३३औँ मदन–आश्रित स्मृति दिवस कार्यक्रममा एमालेले भण्डारीलाई पहिलोपटक प्रमुख अतिथिका रूपमा सहभागी गराएको थियो । बल्खुस्थित मदननगरमा आयोजित कार्यक्रममा पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।
२०७९ फागुन २८ गते राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारीले सक्रिय राजनीतिमा फर्किने संकेत गरेकी थिइन् । उनले त्यसपछि एमालेको सदस्यता नवीकरण प्रक्रिया अगाडि बढाएकी थिइन् ।
तर सदस्यता रोकिएपछि उनले एमालेको ११औँ महाधिवेशनमा समेत भाग लिन पाएकी थिइनन् । पछिल्लो समय पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्किरहेका बेला भण्डारीको सदस्यता नवीकरणलाई एमालेभित्रको बदलिएको राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ ।







