काठमाडौं, ९ भाद्र । बागमती प्रदेश राप्रपा संसदीय दलका नेता उद्धव थापाले विश्वासको मतको प्रायोजनमा राखिएको प्रदेश सभा बैठकमा उपस्थित नहुने सांसदहरूलाई कारबाही गरिने बताएका छन्।
मंगलबार (आज) मुख्यमन्त्री किरण थापाले विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया राख्दै थापाले राप्रपाका ५ सांसदमाथि कारबाही गर्ने बताएका हुन्।
राप्रपा संसदीय दलले प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेकोमा दलको ह्वीप नमान्ने सांसदहरूलाई कारबाही गरिने नेता थापाको भनाइ छ।
‘राप्रपा बागमती संसदीय दलको सचेतक हामीले भदौ १ गते नै फेरेका हौँ,’ थापाले भने, ‘अर्को प्रमुख सचेतकबाट बैठकमा उपस्थित नहुन ह्वीप जारी गरेको हो। नवनियुक्त प्रमुख सचेतकले सबैलाई बैठकमा उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका थिए। दलको ह्वीप नमान्ने सांसदहरूलाई कारबाही गछौँ। ह्वीप उल्लंघन गर्ने सांसदलाई कारबाही अघि बढ्छ।’
बागमती प्रदेशलाई अनिर्णयको बन्दी बनाउन नहुने भनेर राप्रपा सरकारमा सहभागी भएको उनको भनाइ छ।
‘बागमती प्रदेश सरकार गठनका लागि राप्रपा नै निर्णायक भएर आयो। त्यो कारण हामीले सहयोग गरेका हौँ,’ उनले भने, ‘प्रदेशका लागि निकास आवश्यक भयो। निकास दिनुपर्छ भनेर हामीले भूमिका निर्वाह गरेका हौँ। संविधानको धारा १६८ (२) बमोजिम सरकार नबनेको भए बागमतीमा अहिलेको हल्ला भन्दा पनि दुर्गन्धित हुन्थ्यो। हामीले न्याय गर्यौँ।’
बागमती प्रदेश सभामा राप्रपाका १२ सांसद छन्। जसमध्ये राप्रपा संसदीय दलका नेता उद्धव थापा, नवनियुक्त मन्त्रीहरू गिरबहादुर तामाङ, राजु श्रेष्ठ, राजेन्द्र प्रजापति, सांसदहरु मनिका श्रेष्ठ, नुरज बज्राचार्य र डम्बर तामाङले मुख्यमन्त्री थापालाई विश्वासको मत दिएका हुन्।
राप्रपाकै सांसदहरू कुमारी तामाङ, लक्ष्मी घिमिरे, भुवन पाठक, आशा लामा र धनेश्वरी प्रजापति प्रदेश सभा बैठकमै उपस्थित भएनन्। राप्रपाका ७ सांसदको फ्लोर क्रसले मुख्यमन्त्री थापाले ५७ मत सहित बहुमत सिद्ध गरेका हुन्।






