काठमाडौं, ९ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपत्ति विश्व समुदायका लागि समेत गम्भीर चेतावनी भएको बताएका छन्। उनले जलवायु संकट न्यूनीकरण, क्षति न्यूनीकरण तथा प्रभावित मुलुकलाई सहयोग गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।
सम्बोधनको सुरुवातमै प्रधानमन्त्री शाहले हिमालयको काखमा रहेको नेपालबाट मानवजातिले आगामी दिनमा भोग्न सक्ने गम्भीर संकटबारे विश्वलाई सचेत गराउन आएको बताए। उनले भोटेकोशी बाढीमा ज्यान गुमाएका, बेपत्ता भएका तथा आफ्ना आफन्तको खोजीमा रहेका परिवारको अवस्थासमेत स्मरण गरे।
भदौ १० गतेको भोटेकोशी विपत्तिलाई उल्लेख गर्दै शाहले त्यसलाई नेपालका लागि मात्र नभई विश्वकै लागि चेतावनीका रूपमा लिन आग्रह गरे। उनका अनुसार बाढीले पुल, सडक, विद्यालय, घर तथा नागरिकका जीविकोपार्जनका आधारमा ठूलो क्षति पुर्याएको छ।
प्रधानमन्त्री शाहले जलवायु परिवर्तनले हिमाली पारिस्थितिक प्रणालीमा पारिरहेको प्रभावप्रति विश्व समुदायको ध्यानाकर्षण गराए। पर्माफ्रोस्ट पग्लिनु, हिमताल विस्फोट, हिमपहिरो, चट्टान तथा पहिरो र बाढीको जोखिम बढ्दै गएको उनको भनाइ थियो।
उनले जलवायु परिवर्तनले सीमा नचिन्ने उल्लेख गर्दै हिमनदी र बाढीले कुनै पासपोर्ट नबोक्ने बताए। नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु संकटको ठूलो मूल्य चुकाइरहेको उनले बताए।
शाहले जलवायु विपत्तिलाई मानवीय संकटसँगै विकासको आपतकालका रूपमा व्याख्या गरे। विपत्तिका कारण पूर्वाधार र विकासका उपलब्धि नष्ट हुँदा कमजोर मुलुक थप आर्थिक बोझमा पर्ने भएकाले जलवायु वित्तमा अनुदानमा आधारित पर्याप्त सहयोग आवश्यक रहेको उनको भनाइ थियो।
उनले जलवायु परिवर्तनको समस्या समाधानमा ऐतिहासिक रूपमा बढी योगदान गर्ने र बढी क्षमता भएका मुलुकले बढी जिम्मेवारी लिनुपर्ने धारणा राखे। जलवायु न्यायलाई केवल अन्तर्राष्ट्रिय दस्तावेजमा उल्लेख हुने शब्दमा सीमित गर्न नहुने उनले बताए।
प्रधानमन्त्री शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्ने प्रस्तावसमेत अघि सारे। त्यसअन्तर्गत भू–उपग्रहबाट प्राप्त तथ्यांक र विशेषज्ञता आदानप्रदान, जोखिमपूर्ण हिमतालको निगरानी, संयुक्त प्रारम्भिक चेतावनी प्रणाली तथा विपद्का बेला सीमापार सहायता समन्वय गर्नुपर्ने उनको प्रस्ताव छ।
हिन्दुकुश हिमालय क्षेत्रमा करिब दुई अर्ब मानिसको जीवन विभिन्न प्राकृतिक स्रोतमा निर्भर रहेको उल्लेख गर्दै उनले हिमालयलाई विश्वको जीवन धान्ने प्रणालीको अभिन्न हिस्सा भएको बताए।
नेपालले वन क्षेत्र विस्तार, विद्युतीय सवारीको प्रयोग तथा स्वच्छ ऊर्जा विकासमार्फत जलवायु क्षेत्रमा योगदान गरिरहेको पनि शाहले बताए। उनले नेपालले आफ्नो पारिस्थितिक योगदानको तुलनामा ठूलो विश्वव्यापी भूमिका निर्वाह गरिरहेको उल्लेख गरे।
सम्बोधनका क्रममा उनले विपत्तिपछि आवश्यक राहत, पुनःस्थापना, पुनर्निर्माण, जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलतामा विश्व समुदायले ध्यान दिनुपर्ने बताए। हानी तथा नोक्सानी कोषलगायत विद्यमान जलवायु वित्तीय संयन्त्र पर्याप्त नभएको उनको धारणा थियो।
अन्त्यमा प्रधानमन्त्री शाहले कमजोर तथा कम शक्ति भएका मुलुकलाई केन्द्रमा राखेर विश्वव्यवस्थामा सुधार गर्न आग्रह गरे। उनले हिमालयबाट आउने आगामी चेतावनीलाई समयमै सुन्न र त्यसअनुसार काम गर्न विश्व समुदायलाई आह्वान गर्दै ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून्, बुद्धले देखाएको बाटोमा विश्व हिँड्न सकोस्’ भन्दै सम्बोधन टुंग्याए।






