काठमाडौं, ३ भाद्र । विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुजलाई लिएर अमेरिका र इरानबीचको तनाव फेरि बढेको छ ।
मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसलमा एआई निर्मित एक नक्सा तस्वीर राखेका हुन् । जसमा ‘स्ट्रेट अफ होर्मुज’लाई ठूला अक्षरमा नयाँ ‘अमेरिकी भू–भाग’ उल्लेख गरिएको थियो ।
ट्रम्पले यो पनि भनेका छन् कि अमेरिकाले हरेक हप्ता होर्मुज जलसन्धि क्षेत्र भएर हुने लाखौं ब्यारेल तेलको ओसारपसारलाई प्रभावित गरिरहेको छ । उनका अनुसार होर्मुज जलसन्धि खुला छ र तेलको मूल्य घटिरहेको छ ।
यसैबीच, इरानी संसदका सभामुख मोहम्मद बागेर घालिबाफले अमेरिकी दाबीलाई अस्वीकार गरेका छन् । उनका अनुसार इरानका सर्तहरू पूरा नभएसम्म होर्मुज जलसन्धि पूर्ण रूपमा खुल्ने छैन ।
घालिबाफकाले अमेरिकाले लगाएको नाकाबन्दी हटाउनुपर्ने, रोक्का गरिएको इरानी रकम फुकुवा गर्नुपर्ने र तेलसम्बन्धी प्रतिबन्धहरू हटाउनुपर्ने र सैन्य कारबाही पूर्ण रूपमा बन्द गर्नुपर्ने उल्लेख गरेका छन् । घालिबाफले उक्त सर्तहरू पूरा नभएसम्म होर्मुज जलसन्धिलाई सामान्य समुद्री आवागमनका लागि खुला गर्ने कुनै सम्भावना नरहेको बताए । उनले अमेरिका सम्झौताका सर्तहरूबाट पछि हटेको आरोप पनि लगाए ।
सभामुख घालिबाफले अमेरिकाले इरानविरुद्ध चालेको कदमहरूको जवाफमा इरानले अझ कडा कदमहरू पनि चाल्नसक्ने चेतावनी दिएका छन् ।






