Logo

नौमती बाजा बजार संस्कृति संरक्षण र आयआर्जन गर्दै दमकका महिला



झापा, ९ असार । झापाको दमक नगरपालिकाका महिला परम्परागत नौमती बाजा बजाउने पेसामा जोडिन थालेका छन् ।

आयआर्जनमा जोड्दै संस्कृति संरक्षणमा समेत योगदान पुर्याउने उद्देश्यले स्थानीय सरकारले प्रोत्साहन गरेपछि यहाँका महिला यसतर्फ आर्कषित हुँदैगएका हुन् । दमकमा महिलाहरुका चारवटा नौमती बाजा समूह बनाइएका छन् । गत आर्थिक वर्षदेखि सुरु भएको यस अभियानमा नगरका ५० महिला आबद्ध भएका छन् ।

दमकको वडा नम्बर १० मा गत आर्थिक वर्षदेखि नै १० जना रहने गरी सङ्गम नौमती बाजा समूह गठन गरेर तालिम प्रदान गरिएको स्थानीय कल्पना अधिकारीले जानकारी दिनुभयो । यो समूहले बाजा बजाएरै आम्दानी गर्न थालिसकेको उहाँले बताउनुभयो ।

दमक १० की वडा सदस्य भूमिका आचार्यले एउटा कार्यक्रममा बाजा बजाएवापत समूहले रु २५ हजारसम्म लिने गरेको बताउनुभयो । कार्यक्रममा आकर्षण बढाउन धेरैको रोजाइमा महिलाको यो नौमती बाजा समूह पर्न थालेको पनि उहाँले बताउनुभयो । “असार महिनामै तीनवटा कार्यक्रम निर्धारण भइसकेका छन्, मङ्सिरमा हुने शुभ विवाह तथा ब्रतबन्धका लागि अग्रिमरुपमा समूहसँग समय लिनुपर्ने हुन्छ । यसले महिलालाई आयआर्जनका साथै संस्कृति संरक्षणमा समेत सहयोग पुगेको छ”, आचार्यले भन्नुभयो ।

सोही वडाका अध्यक्ष राजेन्द्र भण्डारीले यहाँका महिला सक्रिय भएपछि शुभकार्यमा टाढाबाट बाजा बजाउने मान्छे खोज्नुपर्ने बाध्यता विस्तारै हट्दै भएको बताउनुभयो ।
आयोजक व्यक्ति वा संस्थाले कार्यक्रमका लागि औपचारिक निम्तो दिएपछि नौमती बाजा समूहले सर्तअनुसार बाजा बजाउने र त्यसबाट आएको रकम समूहमा महिलालाई पारिश्रमिक स्वरुप दिने गरेका छन् ।

दमकको ३ नम्बर वडामा गठन गरिएको नारी सशक्तीकरण समाजले नौमती बाजा समूह बनाएर काम गरिरहेको छ । दमक नगरपालिकाबाट तालिमप्राप्त यो समूह सार्वजनिक कार्यक्रमका लागि तयारी अवस्थामा रहेको समाजकी अध्यक्ष लता चापागाईंले बताउनुभयो ।

दमकको वडा नं ८ र ५ का महिलालाई संगठित गरी १५ दिने तालिम सञ्चालन गरिएको छ । तालिममा दुवै वडाका २२ जना महिला सहभागी रहेका वडा नम्बर ५ का अध्यक्ष इन्द्र गुरुङले जानकारी दिनुभयो ।

नगरप्रमुख रामकुमार थापा महिलालाई आयआर्जनमा जोड्न नौमती बाजा बजाउने तालिमबाट परम्परागत सीपको संरक्षण र प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुहुन्छ ।

उपप्रमुख रेगिना भट्टराई (प्रसाईं) पनि व्यावसायिक सीप सिकाएर महिलालाई आयआर्जनमा जोड्न सके नगरको समृद्धिमा टेवा पुग्ने बताउनुहुन्छ । “बेराजगार रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउनुका साथै परम्परागत संस्कृतिको संरक्षणमा पनि टेवा पुग्ने भएकाले नगरले वडा कार्यालयमार्फत यस्ता कार्यक्रम गरिरहेको छ । पक्कै पनि उहाँहरुले सीप सिकेर आर्जन गर्न थालेमा नगरको समृद्धिमा टेवा पुग्नेछ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्