काठमाडौं, २१ भदौ । फेसबुकले हटाएको काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको पोष्ट फिर्ता गरेको छ ।
फेसबुकले आज बालेनको पोष्ट फिर्ता गरेको हो । केही दिनअघि मेयर बालेनले बालश्रम शोषणको आरोप लागेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न माग गर्दै तस्वीरसहित फेसबुकमा पोष्ट गर्नु भएको थियो ।
उक्त पोष्टविरूद्व राजनीतिक दलका कार्यकर्ताहरू आक्रोशित भएका थिए । उक्त पोष्टमा धेरै रिपोर्ट भएपछि फेसबुकले उहाँको पोष्ट नै हटाइदिएको थियो । पोष्ट हटेपछि बालेनले फेरि सरकारसँग आक्रोश पोख्नु भएको थियो ।
पोष्ट हटेपछि बालेनको सचिवालयले फेसबुकलाई पोष्ट फिर्ता गर्न बारम्बार अपिल गरिरहेको थियो । अन्तत फेसबुकले उहाँले पोष्ट फिर्ता गरिदिएको हो ।
बालेनको सचिवालयले पोस्ट खुलाउनका लागि फेसबुकमा पत्राचार गरेको थियो । अन्ततः फेसबुकले आज पोस्ट फेरि ‘शो’ गरेको छ । फेसबुकले माफीसमेत मागेको छ ।
बालेनलाई पठाएको फेसबुकको नोटिसमा भनिएको छ, ‘हामीले यसलाई गलतरुपमा लिएकोमा दुःखी छौं । हामीले तपाईंको पोस्ट फेरि पुनरावलोकन गर्यौं र हाम्रो सामुदायिक मापदण्डअनुरुप नै भएको पायौं । तपाईंले पुनरावलोकनका लागि अनुरोध गर्न समय निकाल्नुभएकोमा आभारी छौं । तपाईंको प्रतिक्रियाले हामीलाई राम्रो गर्न सहयोग मिल्नेछ ।’