धादिङ, १३ असोज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा अर्को बस पनि पुरिएको अवस्थामा फेला परेको छ । सशस्त्र प्रहरी बल, नेपालका अनुसार उक्त बसबाट ३ जनाको शव निकालिएको छ ।
सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उक्त बस गोरखाको लापुबेसीबाट छुटेको आंशका गरिए पनि यकिन भने भएको छैन । झ्याप्लेखोलामा अरु बस पनि पुरिएको आशंकामा अहिले खोजी कार्य भइरहेको छ ।
गोरखाको धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस शुक्रबारदेखि सम्पर्कमा रहेको छैन । शुक्रबार रातिदेखि बस कहाँ छ भन्ने नखुलेको गोरखा दरौंदी यातायात सेवा प्रालिका अध्यक्ष नारायण खत्रीले बताउनुभयो।
उक्त यात्रुवाहक बस शुक्रबार बिहान ७ बजे लापुबाट छुटेको हो ।
झ्याप्लेखोलाममै आएको पहिरोले माइक्रोबस पुरिँदा १४ जनाको मृत्यु भएको छ । बुटवलबाट काठमाडौं आईरहेको माइक्रोबस पहिरोमा पुरिएको हो । १४ जना यात्रुको शव शनिबार साँझ निकालिएको छ । माइक्रोबसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार झ्याप्लेखोलामा अरू बस पनि पुरिएको अनुमानमा खोजी कार्य भइरहेको छ ।