Logo

अहिलेको परिस्थितमा कांग्रेस गठबन्धनबाट भाग्नु हुँदैन: नेत्री कोइराला



विराटनगर, १६ चैत । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले अहिले चुनावी तालमेल आवश्यक रहेको भन्दै केन्द्रीय नेतृत्वले गरेको निर्णय कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिएकी छन् ।

आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले तालमेलको विरोध गर्नुको कुनै तुक नरहेको जिकिर गरिन् । “अहिलेको परिस्थितमा कांग्रेस गठबन्धनबाट भाग्नु हुँदैन । हिजोको कठिन परिस्थितिमा गठबन्धनकै कारण कांग्रेसको नेतृत्वमा सरकार बनेको हो,” उनले भनिन् ।

प्रतिनिधिसभाको अब हुने निर्वाचनमा आफू गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्रबाट उमेदवार हुने पनि उनले बताइन् । निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरिन् ।

“गठबन्धनको अहिल्यै तोडनु हुँदैन । मिलेरै निर्वाचन सम्पन्न गर्ने दायित्व समेत हाम्रै हो,” उनले भनिन्, “पार्टीको केन्द्रीय समितिले जे निर्णय गर्छ, त्यसलाई मानेर अघि बढ्नुको विकल्प छैन ।”

पार्टीभित्र देखिएका फरक मत र समूहका विषयमा टिप्पणी गर्दै उनले सबै एकजुट भएर कांग्रेसलाई विजयी गराउन लाग्नुपर्ने उल्लेख गरिन् ।

प्रतिनिधिसभाको निर्वाचनमा पनि तालमेल गर्ने वा एक्लै अघि बढ्ने भन्ने विषयमा पछि नै निर्णय हुनुपर्नेमा उनले जोड दिइन् । “पछिको निर्णय पछि नै हुन्छ,” उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्