Logo

अघिल्लो कार्यकालमा सुरु भएका काम अब पूरा गर्छु: चिरीबाबु महर्जन



ललितपुर, १२ जेठ । कलाको नगरी ललितपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि चिरीबाबु महर्जन नगर प्रमुखमा निर्वाचित भएका छन्  ।

काठमाडौँ महानगरपालिकामा युवा अनुहारका रुपमा प्रमुख र उपप्रमुख निर्वाचित हुँदै गर्दा ललितपुरमा भने पाका व्यक्ति नै दोहोरिएका छन् ।  पहिलो कार्यकालमा महानगरमा भएका विकासका काम र सरल व्यक्तित्वकै कारण उनी पुनः विजयी भएका महानगरवासी बताउँछन् । विगतमा तीन पटकसम्म वडाध्यक्षका रुपमा काम गरेका उनले ज्यापु समाजको अध्यक्ष भएर काम गरे । उनीसँग  राससले गरेको संवाद….

प्रमुखका रुपमा निर्वाचित भएपछि अबका पाँच वर्षका यहाँका मुख्य प्राथमिकताका क्षेत्रहरु केके हुन ?

पहिलो कुरा मेले आफैँले पहिले सुरु गरेका काम पूरा गर्नुपर्छ । एशियाली विकास बैंकसँग रु ५४ करोड अनुदानमा सम्पदा क्षेत्रमा ट्र्याक लाइन परियोजना अघि बढेको छ । यो काम अहिलेसम्म ६० प्रतिशत सकियो र ४० प्रतिशत बाँकी छ, त्यो सकाउनुपर्छ । अहिले बेस्सरी पानी पर्दा पाटन दरबार क्षेत्रमा जलमग्न बन्छ । ढुङ्गेधारामा पानी जम्छ । परियोजना पूरा भएपछि त्यो हट्नेछ ।

दोस्रोमा राजदल गणसँग समझदारी गरेर ३० रोपनी जग्गा फिर्ता लिइएको छ । त्यो जग्गा लगनखेलको अशोक स्तूपाको दक्षिण र पश्चिममा पर्छ । त्यहाँको पोखरीमा साढे दुई वर्षमा कमलका फूल फुलाउने लक्ष्य छ । त्यो ठाउँमा उत्तरमा सप्तपाताल पोखरी छ र सेनाको क्षेत्रमा रहेको पोखरी गरी जम्मा ४५ रोपनी जग्गा त्यहाँ छ । त्यहाँ ‘ग्रिन एण्ड ब्ल्यु फ्युजन प्रोजेक्ट’ बनाउने योजना छ । त्यसका लागि अध्ययन भइसकेको छ । सेनाको क्षेत्रमा भित्र जान नसकिने भएकाले बाहिरबाट हेर्न मिल्ने गरी बार लगाइनेछ ।

हामीले तेस्रो स्मार्ट सडक बत्ती जडान थालेकामा पहिलो चरण सकियो । दोस्रो चरणमा तीन हजार चार सय बत्ती जडान गर्दैछौँ । चक्रपथमा पनि स्मार्ट बत्ती राख्न लागिएको  छ ।

महानगर कला नगरी हो र यहाँ प्रशस्त सम्पदाहरु छन् । मूर्त र अमूर्त सम्पदालाई राम्रोसँग हेरचाह गर्नुपर्छ । प्रत्येक सम्पदामा सुधार भइरहेको छ । भूकम्पमा क्षतिग्रस्त भीमसेन मन्दिर सरकारसँग कति पनि पैसा नलिई पुनःनिर्माण गरिएको छ । सरकारसँग पैसा लिँदा ठेक्कामा काम गर्नुपर्छ र ठेक्कामा गर्दा त्यसको गुणस्तर कायम नहुने भएकाले चन्दा सङ्कलन गरेर त्यसको निर्माण गरिएको छ । सम्पदाका पाँच छवटा परियोजना जारी छन् र त्यो पूरा गर्नुपर्ने जिम्मेवारी छ ।

पाँच वर्ष पहिले महानगर बनाउन ललितपुर उपमहानगरपालिकामा हिजोका गाउँपालिका र कार्यविनायक नगरपालिका जोडिएको छ । नयाँ थपिएका वडामा विकास भइसकेको छैन । उपमहानगरपालिकामा पर्ने पुल्चोक, जावलाखेल, लगनखेल, नटोल, गाबहालमा विकास गर्न त्यति आवश्यक छैन । त्यसैले चक्रपथ बाहिरका वडामा लगानी बढाएर पुराना वडाको स्तरमा ल्याउन नीति परिवर्तन गरेका छौँ । रातारात नभए पनि अबका पाँचसात वर्षमा त्यो ठाउँको विकास यहाँको हाराहारीमा आउने छ ।

विगतका पाँच वर्षमा गर्न नसकेका र अबका पाँच वर्षमा गर्न चाहेका कुरा केके छन् ?

मैले अघिल्लो कार्यकालमा गर्न नसेकका कुरा खासै छैनन् । हामीले ९० प्रतिशत काम गर्‍यौँ । गर्न नसकेको पनि हाम्रो कारणले होइन । विगतमा फ्लाइओभर बनाउने भनी अध्ययन भयो र यसको सम्भावना छ भनी अध्ययनले देखाएको छ । काठमाडौँमा जाइकाले माइतीघरबाट त्रिपुरेश्वरसम्मको फ्लाइओभर निर्माण गर्न अध्ययन गरेको थियो । उताबाट निर्माण हुँदा यता पुल्चोकको अशोक स्तूपाबाट एक दशमलव चार किमीमा फ्लाइओभर बनाउने हामीले योजना बनाएका थियौँ । उता अहिले त्यो बन्ने सुर छैन । हामीले हतारिएर बनाउँदा त्यसलाई लगेर जोड्ने ठाउँ छैन । त्यसैले फ्लाइओभर हामीले अहिले रद्द होइन स्थगित गरिएको छ । काठमाडौँले माइतीघर–त्रिपुरेश्वर खण्डमा बनाएमा हामी पनि बनाउन सक्छौँ ।

तापाईँले अघिल्लो कार्यकालमा जनतासँग गर्नुभएका सबै प्रतिबद्धता पूरा भए ?

अघिल्लो पटक घोषणापत्रमा उल्लेख भएका र नभएका काम गरेका छौँ । हामीले भीमसेन मन्दिर बनाउने पुल्चोकको समयफाल्चालगायत ७७ पाटीपौवा बनाउने योजना थिएन । पाटनमा अनुदानमा ट्र्याक लाइन बनाउने योजनामा थिएन । शताब्दी पुरुष सत्यमोहन जोशीलाई उनको एक सयौँ जन्मदिन मनाउने कुरा होस वा कोभिड सङ्क्रमणमा नागरिकलाई सहयोग गर्ने कुरा चुनावी घोषणापत्रमा नभए पनि हामीले गरेका छौँ ।

पूर्वाधार निर्माणमा अबका पाँच वर्षमा केके गर्ने योजना छ ?

विगत पाँच वर्षमा हामीले अतुलनीय प्रगति गर्‍यौँ । उपमहानगरपालिका क्षेत्रमा सबै आवश्यक बाटोमा ढुङ्गा र इँटा छाप्ने काम भयो । अब त्यहाँ काम गर्न ठाउँ नै छैन । त्यसको आवश्यकता चक्रपथभन्दा बाहिरी वडामा छ । नीतिमा परिवर्तन गरेर बाहिरी वडामा धेरै बजेट विनियोजन गर्र्ने योजना छ । केन्द्रीय, प्रदेशस्तर, नगरस्तरिय योजना बाहिरी वडामा दिएका छौँ । हिजोका नगरका वडाभन्दा बाहिरी वडामा बढी बजेट छुट्टाइनेछ ।

साइकल लेन निर्माण भयो तर छुट्टै लेन नभएकाले अझै सुरक्षित नभएको कुरा उठ्छ । साइकल लेन विकास र विस्तारको योजना के छ ? 

अहिले हाम्रा जति पनि सडक छन् त्यो विसं २००७ भन्दा पहिले बनेका हुन् । हामीसँग सडकको लेन चित्त बुझ्दो छैन । त्यही साँघुरो सडकमा साइकल लेन बनाउन गाह्रो भएको हो । साइकल लेन दुई किसिमको हुन्छ एउटा सेयर लेन जहाँ साइकलले पहिलो प्राथमिकता पाउँछ तर साइकल नहुँदा अरु सवारी साधन पनि जान सक्छ । दोस्रो डेडिकेडेट लेन हुन्छ जहाँ साइकल नहुँदा पनि अरु सवारी साधन जान पाउँदैन । अहिले पुरानो सडकमा हामीले साढे ३२ किमी सेयर लेन बनाएका छौँ ।

चक्रपथको विस्तार भएको खण्ड ललितपुरमा सात दशमलव नौ किमी पर्छ । त्यस खण्डमा सर्भिस ट्र्याकमा साइकल लेन बनाउन ठेक्का दिइसकिएको छ । दुवैतर्फ गरेर १५ दशमलव आठ किमी साइकल लेन बन्न गएको छ र यो अन्तर्राष्ट्रियस्तरको हुन्छ ।

मेरो सोचाइ के छ भने ललितपुर महानगरले बनाएको जस्तै साइकल लेन छिमेकी नगरपालिकाले पनि गर्दा राम्रो हुन्छ । उत्तरमा काठमाडौँ महानगरपालिकाले महाराजगञ्जसम्म र बूढानीलकण्ठ नगरपालिकाले शिवपुरीसम्म र दक्षिणमा गोदावरी नगरपालिकाले वनस्पति उद्यानसम्म साइकल लेन बनाउने विषयमा छलफल हुनेछ । गोदावरीबाट शिवपुरीसम्म ४२ किमी लम्बाइ छ । आगामी दिनमा अन्तरनगरपालिका साझा परियोजनाका रुपमा यसलाई अघि बढाइनेछ । वाग्मती करिडोरको उचाइ नदी जसरी बगेको छ सडक साइकल लेन उपयुक्त छ ।

हामीसँग अहिलेसम्म साइकल लेनको कानुन छैन । हामीले कानुन निर्माणका लागि प्रक्रिया अघि बढाएका छौँ र अब नगर सभाबाट पास हुनुपर्छ । अहिले साइकलसम्बन्धी सङ्घीय र प्रदेश दुवै सरकारको कानुन छैन ।

सवारी साधनको चाप बढिरहँदा पैदल यात्रुलाई सडक वारपार गर्न गाह्रो भएको देखिन्छ । आकाशे पुल निर्माणको योजना छ ?

हामीले एकान्तकुनामा यातायात व्यवस्था कार्यालय नजिकै आकाशे पुल बनाउने भनी डिजाइन गरेका थियौँ । सडक विभागले हामीलाई अनुमति दिएन । विभाग आफैँले प्रत्येक एकएक किमीमा आकाशे पुल बनाइरहेको छ । अहिले उपत्यकाका आकाशे पुल अहिले चढ्दा र झर्दा थकाइ लाग्ने र हेर्दा नै नचढौँ जस्ता छन् । मेरो आकाशे पुलमा भर्‍याङ र लिफ्ट दुवै राख्ने, कफिसप र शौचालय राख्ने अवधारणा थियो । त्यो नमूना सफल भएमा अरुतिर गर्ने योजना थियो ।

सवारी साधन व्यवस्थापनका लागि ट्राफिक बत्ती बिस्तारको योजना छ ?

हामीले २१ औँ शताब्दीको स्मार्ट ट्राफिक बत्ती जडान गर्ने योजना बनाएका छौँ । हामीले अब जडान गर्न बत्ती एउटा बत्ती अर्को स्थानको बत्तीसँग आपसमा सञ्चार गर्न सक्ने किसिमको हुनेछ । एकातिर भीड भएमा अर्कोतिर पठाउन समन्वय हुनेछ । यस्ता बत्ती बागमती पुलबाट जावलाखेलसम्म पाँच ठाउँमा राखिनेछ ।

सरकारी विद्यालयमा स्थानीय अभिभावकको आकर्षण छैन र निजी विद्यालयका शुल्कका कारण अभिभावक हैरान छन् । यसमा तपाईँको ठोस योजना के छ ? 

सामुदायिक विद्यालयमा स्थानीय विद्यार्थी छैनन् । म पढेको स्कुलमा पनि अहिले घरेलु कामदार वा भाडामा बस्नेका छोराछोरी मात्रै छन् । स्थानीयले सामुदायिक स्कुलमा गुणस्तर छैन त्यसैले एक गाँस कम खाएर पनि राम्रोमा पढाउनुपर्छ भनेर लागेको पाइन्छ । सामुदायिक स्कुल कसरी सुधार गर्ने सोचनीय विषय छ ।

यो महानगर शैक्षिक हब हो । यहाँका केही विद्यालय राम्रा छन् । त्रिपद्म माध्यमिक विद्यालय, प्रगति शिक्षा सदन, सैबुमा आदर्श सौललगायतका विद्यालय राम्रा छन् र त्यहाँ अभिभावकको आकर्षण छ । अरु धेरै विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्नुको कारण अभिभावकले विश्वास नगरेको हो । यी तीन विद्यालयजस्तै अरु आठदस विद्यालय बनाउनुपर्छ ।

निजी विद्यालयमा शिक्षा महाशाखाले अनुगमन गरिरहेको छ । हामीले अझै निजी विद्यालयको शुल्क नियन्त्रण गर्न नसकेको हो । हामीसँग शिक्षाको ऐन छैन र निर्देशिका तयार गरिएको छ । हामीले अनुगमन गरेपनि खासै प्रगति छैन । आगामी शैक्षिक क्षेत्रमा बढी ध्यान दिनुपर्ने छ ।

महानगरमा ठूला अस्पताल छन् तर सहरी गरिबले त्यहाँ जान सक्दैनन् । उनीहरुको स्वास्थ्यमा पहुँच कसरी पुर्‍याउनुहुन्छ ?

स्थानीय तहको स्वास्थ्य पूर्वाधार राम्रो छैन । कोभिडका कारण र ऐनको अभाव हुँदा धेरै प्रगति छैन । हामीसँग भएका स्वास्थ्यचौकी सशक्त बनाउनुपर्छ । महानगरमा सङ्घीय सरकारले स्वास्थ्यसम्बन्धी सहयोग गरेको छैन । कोभिडको समयमा देशका ६९० स्थानीय तहमा अस्पताल बनाउन रु १०र१० करोड दिँदा हामीलाई दिइएको थिएन । यहाँ ठूलाठूला अस्पताल छन् भन्ने सरकारको भनाइ छ ।

हाम्रोमा सात स्वास्थ्यचौकी छन् र ती साना अस्पताल हुन तर त्यहाँको अवस्था सन्तोषजनक छैन । लगानीअनुसार प्रतिफल छैन । नजिकै ठूलाठूला अस्पताल छन् । हामीले महानगरमा रहेका अस्पताललाई नै सहयोग गर्दै आएका छौँ । कोभिडको समयमा पाटन अस्पतालमा अक्सिजन प्लान्ट नहुँदा त्यसका लागि सहयोग गरेका थियौँ । अहिले धापाखेलमा आयुर्वेदिक अस्पताल बनाइरहेका छौँ । कानुनमा महानगर बन्न अस्पताल चाहिने भए पनि महानगर आफैँले अस्पताल सञ्चालन गर्नुपर्छ भन्ने होइन । नजिकैका सरकारी अस्पताल पूर्वाधारमा आवश्यक सुधारमा महानगरले साझेदारीमा गर्छ ।

ललितपुरमा भएका कला, संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनका योजना केके रहेका छन् ?

पाटन दरबार क्षेत्रलाई युनिस्कोले सन् १९८७ देखि विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो । यहाँको मूर्तिकला, काष्ठकलालगायतका कला प्रसिद्ध छन् र त्यसको संरक्षण आवश्यक छ । अहिले कोभिडको कारण हस्तकलामा शिथिलता आएको छ त्यसलाई समाधान गर्नुपर्छ । कलाका काममा लाग्ने जनशक्तिलाई पलायन नहुन भनेर नीति बनाइरहेका छौँ ।

ललितपुर महनगरपालिका वल्र्ड काफ्रट काउन्सिल विश्वको ३५ औँ कला नगरी घोषणा भएको शहर हो । यसमा कोभिडका कारणले समस्या थियो । थप सुधार गरिनेछ ।

फोहरमैला व्यवस्थापनमा सङ्घीय सरकारको भर नपरी महानगर आफैँले व्यवस्थापन गर्नसक्ने अवस्था छ ?

काठमाडौँ उपत्यकाका दुई महानगर र १६ नगरपालिकामध्ये अहिले कुनै पनि आफैँ फोहर व्यवस्थापन गर्न सक्ने अवस्थामा छैनन् । सरकारले निर्माण गरेको बञ्चरेडाँडाको संरचना सम्पन्न हुन लागेको छ । सङ्घीय सरकारका तर्फबाट त्यो हस्तान्तरण भएपछि फोहरको मात्राका आधारमा रकम तिर्न हामी तयार छौँ ।

महानगरमा पहिले निर्वाचित भएर आएको आठरनौ महिनामा नै ल्याण्डफिल्ड साइटमा फोहर फाल्न पाइएन । यहाँँ पनि फोहर छरपष्ट भयो र गाली खानुपर्‍यो । त्यसपछि आफैँ व्यवस्थापन गर्नुपर्छ भनेर हामीले दक्षिणी भेगमा जग्गा अधिग्रहण गरेर काम अघि बढाएका थियौँ । महानगरको वडा नम्बर २१ र २२ मा हामीले छानेको जग्गामा त्यो काम गर्न हुँदैन भन्दै नागरिक उड्डयन प्राधिकरणले पत्र पठाएकाले रोकिएको थियो । त्यो ठाउँ उडानको रुटमा पर्ने र फोहरले गर्दा चिललगायतका चराचुरुङ्गीले बाधा गर्ने प्राधिकरणको भनाइ थियो । गोदावरी नगरपालिकासँगमा कुरा भए पनि केही हुन सकेन ।

अहिले हामीले काठमाडौँमा जसरी एकदुई दिन फोहर ल्याण्डफिल्ड साइट नजाँदा नै सडकमा छरपष्ट नहुने व्यवस्था मिलाएका छौँ । महानगरमा फोहर आन्तरिक रुपमा व्यवस्थापन गछौँ । थोरै फोहर फोहर स्टेशनमा सङ्कलन गर्छौं । दुईतीन साइटमा विर्सजन गरेर माटोले पुरेर व्यवस्थापन गछौँ ।

अधिकांश वडामा खानेपानीको समस्या ज्युँका त्यूँ छ त्यसको समाधानको योजना के छ ? 

काठमाडौँ उपत्यकामा मेलम्ची आयो र पुनस् रोकियो, हाम्रोमा खानेपानीको समस्या छ । मेलम्चीमा पचासौँ वर्षमा परेकोभन्दा बढी पानी परेकाले आयोजनामा क्षति भयो । काठमाडौँ उपत्यकामा ५० औँ लाख बस्छन् यहाँ एउटै स्रोतबाट पानी खुवाउँछु भन्दा त्यो जोखिमपूर्ण हुन्छ । हामीले खानेपानीको वैकल्पिक स्रोत विचार गर्नुपर्छ भनेर गोदावरी र महालक्ष्मी नगरपालिकासँग मिलेर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँगको प्राविधिक डिजाइनमा मकवानपुरको सिस्नेरी खोलाबाट पानी ल्याउन काम सुरु गर्न बजेट व्यवस्थापन गरेका थियौँ । अहिले सिस्नेरी खोलाबाट पानी खेर गरेको छ त्यो ल्याउँदा दैनिक १३ करोड लिटर पानी ल्याउन सकिने अध्ययनले देखाएको छ ।

मेलम्ची आएपछि वितरण गर्दा कहाँकहाँ पानी पुग्दैन हेरेर वैकल्पिक व्यवस्था गर्ने मेरो योजना छ । आकाशे पानी सङ्कलन र विद्यामान मुहान पानी संरक्षणमा ध्यान दिइनेछ । त्यति गर्दा नभए डिप ट्युवबेल खन्ने छौँ । कुनकुन ठाउँमा पुग्छ र कहाँ अभाव छ हेर्नुपर्छ र त्यसैका आधारमा योजना बनाउनुपर्छ ।

सार्वजनिक यातायात व्यवस्थापन खास गरी विद्युतीय सवारी साधन प्रोत्साहन गर्न के गर्न सकिन्छ ?

सार्वजनिक यातायातमा समस्या छन् र त्यसलाई सुधार गर्ने हाम्रो योजना छ । हामीले साझा यातायात सहकारी संस्थामा लगानी गरेर गोदावरी, बुङ्मतिमा अहिले पनि बस चलिरहेका छन् र त्यो बढाउने योजना छ । महानगरभित्र विद्युतीय बस चलाइनेछ । त्यसका लागि अहिले साझामार्फत डेढदुई महिनामा चार बस आउनेछन् । त्यसपछि चार किन्नका लागि प्रक्रिया हुनेछ ।

महानगरले अब गाडि किन्दा विद्युतीय होस् भन्ने छ । मैले चढ्ने गाडी विद्युतीय हुन्छ । नगर प्रहरीलाई विद्युतीय सवारीसाधन चढ्नका लागि खरिद गरिनेछ । केन्द्रीय सरकारले साझामार्फत बस खरिद गर्न रु तीन अर्ब दिएको छ । साझाले नमूना बस ल्याएको रहेछ र थप बस पनि उसले ल्याउनेछ ।

उपत्यकाका नगरले समन्वयमा विभिन्न काम गर्न सक्ने सम्भावना छ । त्यसमा के सोच्नुभएको छ ?

काठमाडौँ उपत्यका मेयर फोरममा १८ पालिका थियौँ । पाँच वर्षमा धेरै प्रगति भएन त्यो सिकेर आमूल परिवर्तन गर्न सक्छौँ । विगत पाँच वर्षमा फोहर विर्सजनमा नै ध्यान गएको थियो र सरकारको पटक पटक ध्यानाकर्षण गराएका थियौँ । हामीले अहिले पनि गर्नुपर्ने काम धेरै छन् । साइकल लेनमा सबैले मिलेर गर्न सकिन्छ । एउटाबाट सिकेका काम अर्कोले गर्न सकिन्छ । वातावरणसम्बन्धी काम गर्न राम्रो मञ्च हो ।

महानगरपालिकाको ललितपुरकै अरु पालिका वा देशका अरु पालिकामा सँगसँगै अघि बढाउन के योजना छ ?

गएको कार्यकालमा महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकालाई वातावरणीय सुधार परियोजना भनेर सहयोग गरिएको थियो । सम्पदा सुधार भनेर गोदावरी चापागाउँको गुठी भवन बनाउन सहयोग गरेका थियौँ । गोदावरी नगरपालिकाको कटुवाल दहमा मन्दिर बनाउन सहयोग गरेका छौँ । अहिलेसम्म गाउँपालिकालाई सहयोग गरेको छैन । भगिनी सम्बन्ध कायम भएको जुम्लाको चन्दननाथ नगरपालिकामा वातावरण सुधारका लागि सहयोग परियोजना छ । महानगरले छिमेकी नगरपालिका र गाउँपालिकालाई सहयोग गर्ने ट्रेन्ड नै बनिरहेको छ । आगामी दिनमा हामी बजेट पुस्तिकामा समेटेर सहयोग गर्नेछौँ ।

प्रतिक्रिया दिनुहोस्