Logo

ग्यालेक्सी इङ्लिस स्कुलको एसइईमा शतप्रतिशत नतिजा; ग्रेडेड हुने विद्यार्थीलाई सम्मान



झापा, ७ जेठ । झापाको भद्रपुर नगरपालिका–९ स्थित ग्यालेक्सी इङ्लिस स्कुल ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा शतप्रतिशत नतिजा हासिल गर्दै नगरमै उत्कृष्ट नतिजा ल्याएको छ ।

विद्यालयले उत्कृष्ट नतिजा ल्याउने २३ जना विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा ३.६० जिपिएभन्दा माथि ल्याउने ८ जना विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको थियो । यस्तै ३.२० भन्दा माथि जिपिए ल्याउने १४ जना तथा २.८० भन्दा माथि ल्याउने एक जना विद्यार्थीलाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका सहायक प्रिन्सिपल विवेक चम्लागाईं का अनुसार गत वर्ष २०८१ को एसइईमा विद्यालयबाट ९१.२५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । विद्यालयले कक्षा ५ र ८ को नगरस्तरीय परीक्षामा पनि निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको जनाएको छ ।

२०६९ सालदेखि सञ्चालनमा आएको विद्यालय हाल भद्रपुर-९ मा करिब ७ बिघा क्षेत्रफलमा फैलिएको परिसरमा सञ्चालन भइरहेको छ । विद्यालयले फराकिलो खेलमैदान, नृत्य-संगीत कक्षा, बालमैत्री कक्षाकोठा र प्रविधिमैत्री शिक्षण प्रणालीमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जनाएको छ ।

विद्यालयले गत वर्षदेखि कक्षा ११ को पढाइसमेत सुरु गरेको छ । कम्प्युटर साइन्स र बिजनेस स्टडिज विषय सञ्चालन भइरहेको विद्यालयका प्राध्यापक कृष्णकुमार मैनालीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्