Logo

सामान्य घटनाबाहेक शान्तिपूर्णरूपमा मतदान सकियाे: निर्वाचन आयाेग



काठमाडौँ, १० वैशाख । चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ को उपचुनावमा सामान्य घटनाबाहेक शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ ।

तीन वटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चलेको थियो । चितवनका दुई वटा मतदान केन्द्रमा केहीबेर मतदान रोकिँदा बारामा केही व्यक्ति पक्राउ परेका थिए । सामान्य घटना भएको भए पनि समग्रमा चुनाव उत्साहपूर्ण र शान्तिपूर्णरूपमा सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।

यकिन तथ्याङ्क आइनसकेको र प्रारम्भिक विवरणअनुसार चितवन र बारामा ६० प्रतिशत तथा तनहुँमा ५५ प्रतिशतको हाराहारीमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ । तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति, बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएसँगै त्यहाँ नयाँ सांसदका लागि उपचुनाव भइरहेको हो । चितवन-२ बाट निर्वाचित रवि लामिछानेको सांसद पद नागरिकता विवादमा सर्वोच्च अदालतले खारेज गरिदिएपछि पुनः चुनाव भएको हो ।

प्रतिक्रिया दिनुहोस्