Logo

नेपाली चलचित्रमा द्वन्द्वका दृश्य कम देखिँदै



काठमाडौँ, १४ पुस । कुनै समय चलचित्र ‘पिँजडा’ का लागि नायक निखिल उप्रेतीले साततलाबाट हामफालेको दृश्यलाई सम्झँदा अझ पनि धेरै दर्शकको आङ सिरिङ्ग बनाउँछ । त्यो बेला एक्सनमय चलचित्रले जहाँ पनि दर्शकलाई तान्थ्यो र दर्शकको ध्यान एक्सनमय चलचित्रमा नै अडिएको हुन्थ्यो । त्यतिबेला चलचित्रमा राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट, शिव श्रेष्ठको एक्सनका दृश्यले धेरै प्रभुत्व जमाएको थियो ।

कलिउड, हलिउड, बलिउड, दक्षिण भारतीयलगायतका चलचित्रमा देखिने एक्सनको क्रेज संसारभर बढ्दै पनि गइरहेको थियो, हलमा कलाकारको एक्सनमय दृश्य हेर्न दर्शक लालायित हुने गर्थे तर अहिले समय बदलिएको छ । बलिउड, हलिउड अहिले पनि एक्सन चलचित्रमा धेरै माथि छ भने कलिउडमा भने यो प्रवृत्ति ह्वातै घटेको छ । विगत केही वर्षदेखि चलचित्र प्रायः एक्सनरहित बन्न थालेका छन् ।

द्वन्द्वनिर्देशक एनबी महर्जन भन्छन्, “चलचित्रभित्र द्वन्द्व नै नहुने त होइन तर अहिले द्वन्द्वले पनि चलचित्रमा दर्शक तान्न सकिरहेको छैन । फेरि अहिले दर्शक हास्य र पारिवारिक विधाको चलचित्र धेरै हेर्न रुचाउँछन् । यही कारणले पनि अहिले चलचित्रले खासै बजार ओगट्न नसकेको हो,” द्वन्द्वनिर्देशक महर्जनले भने, “अहिले चल्ने भनेकै ‘माया प्रेम’ र ‘हास्य विधा’ का चलचित्र हुन् ।”

द्वन्द्वनिर्देशकहरुको अनुभवमा समयानुसार हुने कुरा पनि हो, कहिले कस्तो ट्रेन चल्छ, कहिले कस्तो कसैले भन्न सक्दैन भन्छन् । विगत केही वर्षदेखि नेपालमा द्वन्द्वप्रधान चलचित्र बन्नै छोडेको द्वन्द्वनिर्देशक उनीहरुले बताएँछन् । यति मात्रै नभई अन्य विधामा पनि द्वन्द्वका दृश्यका प्रयोग निकै कम हुन थालेको उनीहरूको भनाइ छ । द्वन्द्वनिर्देशक कुमार श्रेष्ठले चलचित्रमा हिजो जुन हिसाबको द्वन्द्वको आकर्षण थियो, अहिले त्यो नभएको बताए । पछिल्लो समय चलचित्रमा द्वन्द्वका दृश्य गर्ने अभिनेताको कमी भएको हुनाले पनि यस्तो अवस्था आएको निर्देशक श्रेष्ठको भनाई थियो ।

चलचित्रमा एउटा साधारण एक्सनको छायाङ्कन गर्नका लागि तीनदेखि चार दिन लाग्ने निर्देशक महर्जन बताउनुहुन्छ । अझ पूरा एक्सन चलचित्र छायाङ्कन गर्नका लागि भने १५ देखि २० दिन लाग्ने महर्जनको भनाइ थियो । यो पनि लगानी अनुसार नै हुने हो, जसले राम्रो लगानी गर्न सक्यो त्यसको तालिका त्यही अनुसार हुने हो । त्यसैले पनि जो कोही द्वन्द्वनिर्देशनमा हात हाल्न आँट गर्दैनन्, उनले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्