Logo

विकासलाई गति दिन सरकारको ध्यान मेगा प्रोजेक्टमा केन्द्रित छ: प्रधानमन्त्री



काठमाडौँ, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासलाई गति दिन सरकारको ध्यान मेगा प्रोजेक्टमा केन्द्रित गरिएको बताएका छन् ।

१६ औं राष्ट्रिय इन्जिनियर सम्मेलनलाई बुधबार काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र गतिशील बनाउनका लागि ठूला आयोजनामा ध्यान केन्द्रित गरेको बताएका हुन् ।

‘चाहे कर्णाली चिसापानी १० हजार ८ सय मेगावाट क्षमताको जलविद्युत परियोजना अगाडि बढाउनेबारे मन्त्रिपरिषदबाट निर्णय गरेर एसियाली विकास बैंक (एडिबी) को सहयोगमा अध्ययन प्रक्रिया अन्तिम रुप दिने कोसिस भएको कुरा होस्, प्रचण्डले भने, ‘ अथवा अन्य पूर्वाधार निर्माणका कुरा होस् वा ठूला ठूला प्रशारण लाइन निर्माणका कुरा होस् । यी सबै मेगा प्रोजेक्टबाट देशको अर्थतन्त्रलाई गति दिन सकिन्छ भन्ने विश्वासका साथ काम भइरहेको छ ।’

उनले चार सय केभीका तीन वटा प्रशारण लाइन छिट्टै सम्पन्न गर्ने प्रक्रियामा रहेको पनि बताए । आफूले विकास निर्माणका आयोजनामा किन विलम्ब भएका छन्, के कारणले रोकिएका छन् भनेर एक्सन रुमबाट र फिल्डमै गएर अनुगमन गर्न सुरु गरेको पनि उनले बताएका छन् ।

विकास र इन्जिनियर एक अर्काका परिपूरक रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले उनीहरूको भूमिका प्रोत्साहन गर्न व्यवस्थापन तथा सुरक्षाको चिन्ता सम्बोधन गर्न तयार रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्