Logo

गृहमन्त्रीको राजीनामा माग्नु राजनीतिक पूर्वाग्रही: उपमहासचिव ज्ञवाली



काठमाडौँ, ११ चैत । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली काँग्रेसले राजनीतिक प्रतिशोधले ग्रस्त भएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको आरोप लगाएका छन् ।

आइतबार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

उपप्रधानमन्त्री लामिछानेको राजीनामा मागेर सदन अवरुद्ध पार्ने नेपाली काँग्रेसको कामलाई एमालेले जिम्मेवार राजनीतिक दलको कदमको रूपमा लिन नसक्ने उनको भनाइ छ । उपमहासचिव ज्ञवालीले कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भएमा भने एमाले पनि उपप्रधानमन्त्री लामिछानेको राजीनामाको पक्षमा उभिने उनले बताएका हुन् ।

विनाप्रमाण त्यसै राजीनामा माग्न नमिल्ने उनको भनाइ छ । आफैँले प्रधानमन्त्री प्रस्ताव गरेको व्यक्तिलाई गृहमन्त्रीको निम्ति अयोग्य भन्नु राजनीतिक प्रतिशोधबाहेक अरू केही हुन नसक्ने उनले जिकिर गरेका थिए । उपमहासचिव ज्ञवालीले विगतमा आफ्नो पार्टीले प्रमाणको आधारमा मात्र तत्कालीन भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको दाबी गरेका छन् ।

उनले भने, ‘पहिलो कुरा विगतमा हामीले उठाएको विषय र अहिले गृहमन्त्रीजीको राजीनामाको माग गर्दै उठाइएको विषय फरक छ । विगतमा हामीले जस-जस मन्त्रीको राजीनामा मागेका थियौँ, त्यसो गर्दा एक जनालाई सरकारले नै बनाएको छानबिन आयोगले बालकुमारी घटनामा दोषी देखाएको थियो । अर्को एक जना मन्त्रीलाई अख्तियारले बयानका लागि बोलाएको थियो ।’

प्रतिक्रिया दिनुहोस्