Logo

गुजरातलाई हराउँदै नेपाल विजयी



भारत, १८ चैत । नेपालले त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराउँदै विजयी सुरूवात गरेको छ ।

जितको लागि ९९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा अविजित रहँदै कप्तान रोहितकुमार पौडेलले ३३ र अनिल साहले ३२ रन बनाएका थिए ।

नेपालका ओपनर कुशल भुर्तेल १७ र आसिफ शेख १६ रनमा आउट भएका थिए । गुजरातका तेजास पटेल र हेमांग पटेलले १-१ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको गुजरातले १८.२ ओभरमा सबै विकेट गुमाएर ९८ रनको योगफल खडा गरेको थियो ।

गुजरातलाई सस्तैमा रोक्न नेपालका गुल्सन झाले चार, करण केसीले तीन र सोमपाल कामीले एक विकेट लिएका थिए ।

गुजरातका रुद्र पटेलले सर्वाधिक २३ रन बनाएका थिए । हेमांग पटेलले २०, सरल प्रजापतिले १७, अभिषेक देसाईले ११ र स्मित पटेलले १० रन थपे । गुजरातका अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एसीसी प्रिमियर कप र ट्वान्टी-२० विश्वकपअघि तयारीका लागि हाल नेपाली टिम भारतमा छ । नेपालले अब अप्रिल २ मा बरोडासँग खेल्नेछ । यसपछि अप्रिल ३ मा गुजरातसँग र अप्रिल ५ मा पुन: बरोडासँग खेल्नेछ । शृंखलाका शीर्ष दुई टिम उपाधिका निम्ति अप्रिल ७ मा भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्