Logo

आईपीएल क्रिकेट : बलिया दुई टोली कोलकाता र राजस्थानबिच भिडन्त हुँदै



काठमाडौँ, ४ वैशाख ।  इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १७औँ संस्करणमा आज दुई बलिया टोलीबिच भिडन्त हुँदैछ । कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबिचको खेल कोलकातास्थित इडेन गार्डेन्स स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

जारी सिजनको आईपीएलको यो ३१औँ खेल हो । आईपीएलको १७औँ संस्करणमा यी दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । राजस्थान रोयल्स १० अंकसहित तालिकाको पहिलो र कोलकाता नाइट राइडर्स आठ अंकसहित दोस्रो स्थानमा छन् ।

आजको खेलमा विजयी हुने टोली तालिकाको पहिलो स्थानमा उक्लने छ । राजस्थान रोयल्सको यो सातौँ खेल हो । राजस्थान रोयल्स यसअघि खेलिएको ६ मध्ये पाँच खेलमा विजयी भएको छ । एक खेलमा भने राजस्थान पराजित भएको छ ।

राजस्थानले आफ्नो पहिलो खेलमा लखनउ सुपर जाइन्ट्सलाई २० रनले, दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई १२ रनले, तेस्रो खेलमा मुम्बई इन्डियन्सलाई ६ विकेटले र चौथो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराएको थियो ।

लगातार चार खेलमा जित हात पारेपछि राजस्थान रोयल्स पाँचौँ खेलमा आएर पराजित भएको थियो । राजस्थानलाई पाँचौँ खेलमा गुजरात टाइटन्सले तीन विकेटले हराएको थियो । छैटौँ खेलमा राजस्थानले पुनः आफ्नो विजययात्रलाई निरन्तरता दिँदै पञ्जाब किङ्सलाई तीन विकेटले हराएको थियो ।

जारी सिजनको आईपीएलमा कोलकाता नाइट राइडर्सको भने यो छैटौँ खेल हो । कोलकाता यसअघि खेलिएको पाँचमध्ये चार खेलमा विजयी र एक खेलमा पराजित भएको थियो । कोलकाताले आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादलाई चार रनले हराएको थियो ।

कोलकाताले दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई सात विकेटले र तेस्रो खेलमा दिल्ली क्यापिटल्सलाई १०६ रनले हराएको थियो । कोलकाता चौथो खेलमा चेन्नई सुपर किङ्ससँग सात विकेटले हारेको थियो । कोलकाताले पाँचौँ खेलमा लखनउलाई आठ विकेटले हराएको थियो ।

तालिकामा राजस्थानसँग दुई अंकले पछाडि परे पनि नेट रनरेटमा भने कोलकाता अगाडि देखिन्छ । त्यसैले आजको खेलमा राजस्थान रोयल्सलाई हराउन सफल भएमा कोलकाता नाइट राइडर्स तालिकाको पहिलो स्थानमा उक्लने छ ।

प्रतिक्रिया दिनुहोस्