झापा, १९ भाद्र । झापाको बिर्तामोड–३ बिर्ताबजारस्थित अनारमनी पब्लिक क्याम्पसको १९औँ वार्षिक साधारण सभा शुक्रबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. लक्ष्मीप्रसाद मैनालीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न सभामा क्याम्पसका संस्थापक प्रमुख मोहन सिवाकोटी र निवर्तमान अध्यक्ष राजकुमार पोखरेललाई सम्मान गरिएको थियो। स्थानीय सरकारका तर्फबाट क्याम्पसलाई आवश्यक सहयोग पुर्याउँदै आएका बिर्तामोड–३ र ६ का वडाध्यक्षलाई समेत प्रशंसापत्र प्रदान गरिएको थियो।
सभामा अध्यक्ष डा. मैनालीले सञ्चालक समितिको प्रतिवेदन तथा क्याम्पस प्रमुख योगेन्द्रप्रसाद भट्टराईले वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा प्राध्यापक तथा कर्मचारीको तलब १० प्रतिशत वृद्धि गर्ने, पाँच वर्षभन्दा बढी सेवा गरेका प्राध्यापक तथा कर्मचारीका लागि उपदान कोष स्थापना गर्ने तथा विपन्न विद्यार्थीका लागि बैंक तथा वित्तीय संस्थाबाट संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत छात्रवृत्ति उपलब्ध गराउने प्रस्ताव प्रस्तुत गरिएको थियो।
कार्यक्रममा चौथो वर्षको गत वार्षिक परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने एक विद्यार्थीलाई पुरस्कृत गरिएको थियो। यस्तै, छात्रवृत्तिका संस्थापकहरूबाट ५३ जना विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्रवृत्ति प्रदान गरिएको थियो।
१९औँ वार्षिक साधारण सभा, सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रमका संयोजक एवं क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष कृष्ण बिमलीले स्वागत मन्तव्य दिनुभएको थियो भने शुष्मा पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।






