Logo

अर्जुनधाराका बालगृह र विद्यालयलाई दुई लाख बराबरको सामग्री हस्तान्तरण



झापा, २३ जेठ । सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको अनुदान सहयोगमा अर्जुनधाराका विभिन्न बालगृह तथा विद्यालयलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको छ।

अर्जुनधारा नगरपालिका महिला तथा बालबालिका शाखामार्फत बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया आमा, गङ्गा आमा, जङ्गल गार्डेन ब्वाइज होम तथा जुनकीरी सार्वजनिक आधारभूत विद्यालयका बालबालिकालाई खाद्यान्न, स्टेशनरी, स्कुल ड्रेस र छाता लगायतका सामग्री वितरण गरिएको हो। करिब दुई लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको जनाइएको छ।

कार्यक्रमअन्तर्गत कारागारमा रहेका अभिभावकका ३१ जना बालबालिका तथा जुनकीरी विद्यालयका ८५ जना विद्यार्थीलाई स्टेशनरी उपलब्ध गराइएको थियो।

बन्दी सहायता नेपालले २०६२ सालमा जुनकीरी बाल विकास केन्द्रबाट सुरु गरेको परियोजना अन्तर्गत हाल जुनकीरी सार्वजनिक आधारभूत विद्यालयमै बालगृहको आवासीय व्यवस्था गरिएको छ। कक्षा ५ सम्म अध्ययन गरेपछि विद्यार्थीहरूलाई कक्षा १० सम्म छिमेकी विद्यालयहरूमा पठाइने गरिएको र कक्षा ११–१२ का लागि बिर्तामोडका विद्यालयमा अध्ययनको व्यवस्था गरिएको जानकारी दिइएको छ।

कार्यक्रममा अर्जुनधारा ११ खेलकुद समितिका प्रतिनिधि तथा वडा सदस्य सुसिला गिरिले बाल क्लबका अध्यक्ष रोहन भण्डारीलाई फुटबल, भलिबल र डस्बिन प्रदान गरेका थिए। विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।

बक्ताहरूले बालबालिकाको शिक्षा, आवास र समग्र विकासमा कोशी प्रदेश सरकारले गर्दै आएको सहयोगको प्रशंसा गरेका थिए। कार्यक्रमका क्रममा बन्दी सहायता नेपालले निरन्तर प्राप्त अनुदानले बालगृह सञ्चालन र बालबालिकाको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुगेको बताएको थियो।

कार्यक्रम कार्यवाहक अध्यक्ष पूर्णबहादुर राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। स्वागत मन्तव्य छात्रा सोनिया दर्जीले गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रञ्जित परियारले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्