Logo

आज असार १५ : दही चिउरा खाएर धान दिवस मनाइँदै



एआई फोटो

काठमाडौं, १५ असार । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। कृषिप्रधान नेपालको कृषि संस्कृति, परम्परा र किसानको श्रमप्रति सम्मान व्यक्त गर्दै खेतमा धान रोप्ने, असारे भाका गाउने र दही–चिउरा खाने परम्परा आज पनि उत्साहका साथ निभाइँदै छ।

हरेक वर्ष असार १५ गते मनाइने यस पर्वमा किसानहरू खेतमा धान रोपाइँमा व्यस्त रहन्छन् भने दिनभरको श्रमपछि शक्ति सञ्चय र शरीरलाई शीतलता प्रदान गर्ने विश्वासका साथ दही–चिउरा खाने चलन छ। खेतीपातीमा संलग्न मात्र होइन, अन्य पेशा र व्यवसायमा आबद्ध नेपालीले पनि दही–चिउरा खाएर यो पर्व मनाउने गरेका छन्।

नेपाली समाजमा दहीलाई शुभताको प्रतीक मानिन्छ। शुभकार्य, यात्रा वा नयाँ काम सुरु गर्नुअघि दही-अक्षता लगाउने र सगुनका रूपमा दही खुवाउने परम्परा अहिले पनि कायम छ। दही खाएर यात्रा सुरु गर्दा शुभ हुने जनविश्वास रहिआएको छ।

वैज्ञानिक र आयुर्वेदिक दृष्टिले समेत दही स्वास्थ्यका लागि लाभदायक मानिन्छ। यसले पाचन प्रणालीलाई सुदृढ बनाउनुका साथै शरीरमा आवश्यक पोषक तत्व प्रदान गर्ने विश्वास छ। आयुर्वेदमा भोजनपछि मोही पिउनुलाई स्वास्थ्यका लागि लाभदायक मानिएको छ भने पखालाजस्ता समस्यामा दही–चिउरा उपयोगी हुने उल्लेख गरिएको छ।

नेपालमा राष्ट्रिय धान दिवस भने विसं २०६२ सालदेखि मनाउन थालिएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पहलमा सुरु गरिएको यो दिवसले धान उत्पादन वृद्धि, कृषिप्रति आकर्षण र किसानको योगदानको सम्मान गर्ने उद्देश्य बोकेको छ।

असार महिना किसानका लागि सबैभन्दा व्यस्त समय हो। आजका दिन खेतमा असारे भाका गुञ्जिन्छन्, हिलोमा रमाउँदै धान रोपिन्छ र परम्परागत कृषि संस्कृतिको संरक्षणसमेत गरिन्छ। हिलो खेल्ने र रोपाइँमा सहभागी हुने परम्पराले असार १५ लाई नेपाली समाजको मौलिक सांस्कृतिक पर्वका रूपमा स्थापित गरेको छ।

यद्यपि यस वर्ष असारको मध्यसम्म आइपुग्दा पनि देशका धेरै स्थानमा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको छ। किसानहरू समयमै पर्याप्त वर्षा भई रोपाइँले गति लिने अपेक्षामा छन्।

प्रतिक्रिया दिनुहोस्