काठमाडौं, १२ भाद्र । देशभर आज जनैपूर्णिमा अर्थात् ऋषितर्पणी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। श्रावण शुक्ल पूर्णिमाका अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ।
जनैपूर्णिमाका दिन वैदिक सनातन धर्मावलम्बी बिहानै नदी, ताल, पोखरी तथा कुण्डमा पुगेर स्नान गरी गुरु–पुरोहितबाट मन्त्रित रक्षासूत्र (डोरो) बाँध्ने गर्छन्। धार्मिक मान्यताअनुसार मन्त्रिएको रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुन्छ।
तागाधारी समुदायले आज विधिपूर्वक नयाँ यज्ञोपवीत (जनै) फेर्ने परम्परा छ। पूर्णिमाको बिहान स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरेपछि वैदिक विधिअनुसार मन्त्रिएको नयाँ जनै धारण गरिन्छ।
कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिको पूजा तथा तर्पण गरिने भएकाले जनैपूर्णिमालाई ऋषितर्पणी पनि भनिन्छ। वैदिक परम्परामा यज्ञोपवीतलाई ब्रह्मसूत्र तथा ज्ञानको धागोका रूपमा समेत लिइन्छ।
जनैपूर्णिमाका अवसरमा काठमाडौँ उपत्यकासहित देशभरका मठमन्दिर, नदीकिनार तथा धार्मिकस्थलमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्छ। पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायतका क्षेत्रमा पनि भक्तजनको चहलपहल बढेको छ।
यस पर्वमा ११ प्रकारका गेडागुडी मिसाएर टुसा उमारिएको क्वाँटी खाने परम्परा पनि छ। क्वाँटी स्वास्थ्यका लागि पौष्टिक मानिन्छ। आयुर्वेदमा समेत विभिन्न गेडागुडीबाट तयार पारिएको क्वाँटीले शरीरलाई पोषण दिनुका साथै रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्ने मान्यता छ।
तराई क्षेत्रमा भने जनैपूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने चलन छ। राखी बाँधेर दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र पारिवारिक सम्बन्ध अझ बलियो बनाउने सामाजिक विश्वास छ। पछिल्लो समय यो परम्परा पहाडी क्षेत्रमा पनि विस्तार हुँदै गएको छ।
जनैपूर्णिमाका अवसरमा काठमाडौँको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, जनकपुरधामका धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु तथा नवलपरासीको त्रिवेणीधामलगायत विभिन्न धार्मिक तथा पर्यटकीयस्थलमा विशेष मेला लाग्ने गर्छ।






