काठमाडौं, ६ असोज । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक आज पनि जारी रहने भएको छ । बैठक बिहान ९ बजेदेखि भनिमण्डलस्थित रामबाग पार्टी प्यालेसमा सुरु हुनेछ ।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी, अध्यक्षको प्रतिवेदन, जनतासँगको सम्बन्ध तथा समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्नेछन् । त्यसका लागि प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेटको समय निर्धारण गरिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले हिजोको बैठकमा प्रस्तुत गरेका नौवटा एजेण्डामध्ये आठवटामाथिको छलफल तथा कारबाही आजदेखि अघि बढाइने जनाइएको छ । आजको बैठकमा केन्द्रीय सदस्य मनोनयन, विभिन्न विभाग गठन, पोलिटब्युरो तथा स्थायी कमिटी गठनलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
त्यसैगरी, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च तथा अनुशासनसम्बन्धी विषयमा समेत बैठकले आवश्यक दृष्टिकोण बनाउने तयारी गरेको छ ।
केन्द्रीय सदस्यहरूको मनोनयनपछि बैठकमा धारणा राख्ने क्रम सुरु हुनेछ । पोलिटब्युरो, स्थायी कमिटीसहित विभिन्न तहका नेताहरूको जिम्मेवारी बाँडफाँड भने भोलि गर्ने तयारी रहेको एक पदाधिकारीले जानकारी दिएका छन् ।
हिजोदेखि सुरु भएको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन र पार्टीका सांगठनिक विषयमा केन्द्रित रहेर बैठकमा छलफल अघि बढ्नेछ ।






