काठमाडौं, २० वैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा प्रकाशनको तयारी तीव्र बनाएको छ। चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाका सबै उत्तरपुस्तिका जाँच सकिएको र हाल टेबुलेसनको काम भइरहेको जनाइएको छ।
बोर्ड स्रोतका अनुसार वैशाख २८ वा २९ गतेभित्र नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ। ‘उत्तरपुस्तिका जाँच सकिएको छ, अहिले टेबुलेसन भइरहेको छ,’ स्रोतले जनाएको छ।
अघिल्ला वर्षहरूमा परीक्षा सकिएको करिब तीन महिनापछि नतिजा प्रकाशित हुने गरेको भए पनि यस वर्ष भने एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न लागिएको हो।
यसपटक एसइई परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका थिए।





