Logo

कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि छानबिन समिति गठन

कक्षा १२ काे रिजल्ट हतारमा ननिकालिएकाे शिक्षामन्त्रीकाे भनाइ



काठमाडौं, ११ असार । कक्षा १२ को नतिजालाई लिएर विभिन्न प्रश्न र गुनासाहरू उठ्न थालेपछि शिक्षामन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क र डेटा इन्ट्रीको भेरिफिकेसन गर्न विशेष समिति गठन गरिएको जानकारी दिएका छन्।

मन्त्री पोखरेलका अनुसार समितिमा शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरूको प्रतिनिधित्व रहनेछ। समितिले नतिजा प्रक्रियाको परीक्षण गरी आवश्यक प्रतिवेदन पेश गर्नेछ।

राष्ट्रिय परीक्षा बोर्डको नतिजा सार्वजनिक गर्ने प्रक्रियाबारे सामाजिक सञ्जालमा भइरहेका टिप्पणी र बहसप्रति ध्यानाकर्षण भएको जनाउँदै मन्त्री पोखरेलले नतिजा प्रक्रिया पारदर्शी, स्पष्ट र विश्वसनीय रहेको दाबी गरेका छन्। आवश्यक जनशक्ति परिचालन तथा प्रशासनिक जटिलता हटाएर समयमै नतिजा प्रकाशन गरिएको उनले बताएका छन्।

नतिजा हतारमा सार्वजनिक गरिएको भन्ने आरोपको खण्डन गर्दै उनले नियमित प्रक्रिया अनुसार नै नतिजा प्रकाशित गरिएको स्पष्ट पारे।

साथै, नतिजाप्रति असन्तुष्टि जनाउँदै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीहरूप्रति सम्मानजनक व्यवहार गर्न आग्रह गर्दै उनले सामाजिक सञ्जालमा गालीगलौज, दुर्व्यवहार वा अपमानजनक टिप्पणी नगर्न सबैलाई अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्