काठमाडौं, ७ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि आज देशैभरका पालिकामा एकैसाथ अधिवेशन हुँदैछ।
वडा अधिवेशन सफलतापूर्वक सम्पन्न भएसँगै सुरु भएको यो चरणबाट देशभरका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाहरूमा नयाँ नेतृत्व चयन गरिनेछ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार छिटपुट स्थानबाहेक देशैभरका वडाहरूमा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयनको प्रक्रिया सम्पन्न भइसकेको छ।
भर्खरैको बाढीपहिरोका कारण प्रभावित बनेका नुवाकोट र धादिङका साथै मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका रोकिएका वडाहरूमा समेत अधिवेशन सकिएको छ।
यद्यपि, प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राख्दै केही दिनपछि मात्र अधिवेशन सञ्चालन गर्ने तयारी मिलाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो।
पार्टीको नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनमार्फत प्रत्येक पालिकामा पाँच जना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ।
जसमा एक जना सभापति, एक महिलासहित दोस्रो वरीयताका दुई जना उपसभापति, एक जना सचिव र एक जना सहसचिवको प्रत्यक्ष चयन हुनेछ। कोषाध्यक्ष पदमा भने निर्वाचित भई आउने कार्यसमिति सदस्यहरूमध्येबाट सभापतिले मनोनयन गर्ने प्रावधान राखिएको छ।
कार्यसमितिलाई थप मजबुत र पूर्ण समावेशी बनाउनका लागि विधानमा थप मनोनयनको प्रावधानसमेत समेटिएको छ। जसअनुसार गाउँ कार्यसमितिमा सात जना, नगर कार्यसमितिमा नौ जना, उपमहानगर कार्यसमितिमा ११ जना र महानगर कार्यसमितिमा १३ जना सदस्यहरू पछि मनोनयन गर्न सकिनेछ।
यसरी मनोनयन गर्दा प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधित्व हुन नसकेका क्लस्टर तथा समुदायलाई अनिवार्य प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ। आजको पालिका अधिवेशनले स्थानीय तहमा कांग्रेसको सांगठनिक सुदृढीकरण र महाधिवेशनको केन्द्रीय यात्रालाई थप तीव्रता दिने अपेक्षा गरिएको छ।






