काठमाडौं, २७ असार । काठमाडौं महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारलाई सहयोग गर्ने भएको छ ।
घटनाप्रति गहिरो दुःख व्यक्त महानगरले नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने र सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिने प्रवक्ता नवीन मानन्धरले विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् ।
महानगरले घटनाको निष्पक्ष छानबिन गर्न गृह मन्त्रालयले गठन गर्ने छानबिन समितिको तथ्यगत अनुसन्धानमा पूर्ण रूपमा सहयोग गर्ने उल्लेख छ ।






