काठमाडौं, २६ असार । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर घाइते भएका गणेश नेपालीको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ। उनको थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) पठाउने तयारी तीव्र पारिएको छ।
हाल वीर अस्पतालमा उपचाररत नेपालीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै विशेषज्ञ उपचार आवश्यक रहेको चिकित्सकहरूको सुझावपछि भारत लैजाने प्रक्रिया अघि बढाइएको हो। यसका लागि आवश्यक प्राविधिक, प्रशासनिक तथा व्यवस्थापकीय तयारी सम्बन्धित निकायले तीव्र रूपमा गरिरहेको जनाइएको छ।
घाइतेको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री सुदन गुरुङ तथा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू शुक्रबार वीर अस्पताल पुगेका थिए। उनीहरूले उपचारमा संलग्न चिकित्सकहरूसँग छलफल गर्दै बिरामीलाई शीघ्र भारत पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया तत्काल पूरा गर्न निर्देशन दिएका छन्।
सरकारका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहको पहलमा गणेश नेपालीलाई नयाँ दिल्लीस्थित एम्समा उपचारका लागि पठाउने निर्णय कार्यान्वयनको चरणमा पुगेको छ। सरकारले उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धतासमेत जनाएको छ।






