
काठमाडौं, १६ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग नियमित सम्पर्क देखिएपछि प्रहरीले इनाम सापकोटासँग सोधपुछ गरेको छ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली जान लागेका सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालयमा लगेको थियो। विशेष ब्युरोले उनीसँग लामो समय सोधपुछ गर्नुका साथै मोबाइलमा रहेका सम्पर्क तथा कारोबारसम्बन्धी विवरणसमेत जाँच गरेको थियो।
प्रहरी स्रोतका अनुसार जबरालाई नियन्त्रणमा लिएपछि उनको मोबाइल परीक्षण गर्दा सापकोटासँग बाक्लो सम्पर्क देखिएको थियो। त्यसपछि प्रहरीले सापकोटाको गतिविधिबारे थप जानकारी लिएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा सापकोटामार्फत सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँग जबराको सम्पर्क हुने गरेको आशंका गरिएको छ। भट्ट र सापकोटाबीच फोन सम्पर्क भएको विवरणसमेत प्रहरीले फेला पारेको बताइएको छ।
सापकोटाको ह्वाट्सएपमा रकम कारोबारसँग सम्बन्धित विवरण भेटिएको र उनले एक सहकर्मीलाई ‘५० लाख रकम आएको’ भन्दै पठाएको सन्देशसमेत फेला परेको प्रहरी स्रोतको दाबी छ। यद्यपि, जबराको बैंक खातामा सापकोटाले रकम पठाएको प्रमाण भने अहिलेसम्म नदेखिएको स्रोतले जनाएको छ।
प्रहरीले सापकोटालाई केही समय नियन्त्रणमा राखेर सोधपुछ गरेपछि छाडेको छ। प्रहरीका अनुसार जबरासँग सम्बन्धित विषयमा अनुसन्धान भने जारी छ।
जबरालाई प्रहरीले असोज ११ गते महाराजगञ्जबाट नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगेको थियो। सुरक्षा चुनौतीको कारण देखाउँदै नियन्त्रणमा लिइएको प्रहरीले बताउँदै आएको छ। उनीमाथि अनुसन्धान भइरहेका विषयसँग जोडिएका व्यक्तिहरूमाथि समेत प्रहरीले निगरानी बढाएको छ।






