झापा, ३० जेठ । मुद्रण उद्योग संघ झापाले ग्राफिक्स डिजाइन तथा मुद्रण क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित ‘ग्राफिक्स डिजाइनमा एआई (कृत्रिम बुद्धिमत्ता) को प्रयोग’ विषयक एकदिने तालिम कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार बिर्तामोडको चारपानेमा आयोजित तालिममा जिल्लाका विभिन्न मुद्रण तथा डिजाइन व्यवसायसँग आबद्ध ४० जना सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा गुगल जेमिनी एआई एजुकेटर उमाकान्त खनालले प्रमुख प्रशिक्षकका रूपमा एआईको सम्भावना, प्रयोगका क्षेत्र तथा डिजाइन उद्योगमा यसको प्रभावबारे प्रशिक्षण दिएका थिए।
त्यस्तै, ग्राफिक्स डिजाइनसम्बन्धी प्राविधिक विषयमा प्रशिक्षक एकराज प्रधानले सहजीकरण गरेका थिए। प्रशिक्षकहरूले आधुनिक डिजाइन प्रविधि, एआई टुल्सको प्रयोग, कार्यक्षमता अभिवृद्धि तथा व्यवसायिक प्रतिस्पर्धामा कृत्रिम बुद्धिमत्ताको भूमिकाबारे विस्तृत जानकारी गराएका थिए।
कार्यक्रममा मुद्रण उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष युवराज डाँगी प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले प्रविधिको तीव्र विकाससँगै मुद्रण तथा डिजाइन क्षेत्र पनि नयाँ चरणमा प्रवेश गरिरहेको उल्लेख गर्दै यस्ता तालिमले व्यवसायीलाई समयानुकूल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
संघका अध्यक्ष रोहितकुमार भट्टराईले एआईलगायत आधुनिक प्रविधिको सही उपयोगले मुद्रण उद्योगलाई थप सशक्त र प्रतिस्पर्धी बनाउन सकिने धारणा व्यक्त गरे। सहभागीहरूले तालिम उपयोगी र समयसापेक्ष रहेको प्रतिक्रिया दिँदै यसले आफ्नो कार्यक्षमता र व्यवसायिक दक्षता बढाउन सहयोग पुग्ने बताएका छन्।
सोही अवसरमा संघको अक्षय कोषका लागि शुभेच्छुकको तर्फबाट ५१ हजार रुपैयाँ तथा संघका सदस्य देवराज गौतमको तर्फबाट ५ हजार १०० रुपैयाँ कोषाध्यक्ष रमेशकुमार बस्नेतलाई हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा मुद्रण उद्योग महासंघका सहकोषाध्यक्ष राजु पोखरेल, बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य केदार खनाललगायतको उपस्थिति रहेको थियो। संघका सचिव भानुभक्त खनालले सञ्चालन गरेको कार्यक्रममा आगामी दिनमा पनि प्रविधि र सीप विकाससम्बन्धी यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी गराइएको छ।








