Logo

झापामा डेंगु संक्रमण बढ्दो, एक बालकको मृत्यु



झापा, २३ असार । झापामा डेंगु संक्रमण तीव्र रूपमा फैलिन थालेको छ। जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षमा डेंगुका कारण झापा गाउँपालिका–६ का १० वर्षीय एक बालकको मृत्यु भएको छ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा जिल्लाभर ६ सय १ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ। जिल्लाका १५ स्थानीय तहमध्ये दमक र बिर्तामोडमा सबैभन्दा धेरै संक्रमित भेटिएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

हालसम्म दमकमा २१६, बिर्तामोडमा १८०, भद्रपुरमा ७०, हल्दीबारीमा २८, मेचीनगरमा २२, बुद्धशान्तिमा १८, कनकाईमा १६, अर्जुनधारामा ११, बाह्रदशीमा ७ र गौरादहमा ३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका डेंगु रोग ‘फोकल पर्सन’ युवनाथ बरालका अनुसार केही स्थानीय तहबाट तथ्यांक अद्यावधिक हुन बाँकी रहेकाले संक्रमितको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। स्वास्थ्य कार्यालयले लामखुट्टेको प्रजननस्थल नष्ट गर्न, पानी जम्न नदिन र व्यक्तिगत सुरक्षाका उपाय अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्