Logo

११ हजार धारामार्फत एक लाख नागरिकलाई शुद्ध पानी खुवाउदै बिर्तामोड खानेपानी



झापा , ८ साउन । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्नो प्रगति विवरण सार्वजनिक गर्दै हाल ११ हजार धारामार्फत करिब एक लाख जनसंख्यालाई २४सैँ घण्टा शुद्ध खानेपानी वितरण भइरहेको जनाएको छ।

संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाका अनुसार बिर्तामोड नगरपालिकाका सबै १० वडा तथा अर्जुनधारा नगरपालिकाका वडा नम्बर ५, ६ र ११ का केही क्षेत्रमा करिब ५७५ किलोमिटर पाइपलाइनमार्फत खानेपानी सेवा विस्तार गरिएको छ।

संस्थाले सेवा विस्तारसँगै नयाँ पाइपलाइन निर्माण, डिप बोरिङ, फिल्टर प्लान्ट जडान तथा पानी उत्पादन वृद्धि गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। एसियन हाइवे निर्माणका क्रममा क्षति पुगेका पुराना पाइपलाइनको सट्टा नयाँ एचडीपीई पाइप विस्तार भइरहेको छ भने शनिश्चरे रोड, हर्कलाल मार्ग, महानन्द चोक–माता मन्दिर सडकखण्डलगायत विभिन्न क्षेत्रमा नयाँ पाइपलाइन जडान सम्पन्न गरिएको छ।

पानीको स्रोत वृद्धि गर्न अर्जुनधारा र बिर्तामोडका विभिन्न स्थानमा नयाँ डिप बोरिङ, फिल्टर प्लान्ट, ट्रान्सफर्मर र पम्प जडानको काम अन्तिम चरणमा पुगेको संस्थाले जनाएको छ। गरामनी र सैनिक बजार क्षेत्रमा समेत शुद्ध खानेपानी वितरण सुरु गरिएको छ।

सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन प्रत्येक उपभोक्ताको घरमा क्यूआर कोडसहितको हाउस नम्बर प्लेट जडान, सम्पूर्ण पाइपलाइन तथा संरचनालाई जीआईएस (GIS) प्रणालीमा आबद्ध गर्ने कार्य पनि निरन्तर भइरहेको संस्थाको भनाइ छ।

संस्थाले आगामी वर्ष टेकबहादुर गिरी बसपार्क क्षेत्रमा नयाँ खानेपानी आयोजना सञ्चालन गर्ने, बिर्तामोडभित्रका अन्य खानेपानी आयोजनालाई एकीकृत गर्ने तथा चारपानेदेखि बाहदशी–हल्दीबारी सीमासम्म सेवा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ।

यद्यपि अव्यवस्थित प्लटिङ, सडक तथा ढल निर्माण, पुराना पाइपलाइन, तीव्र शहरीकरण, एसियन हाइवे निर्माण र मौसमजन्य क्षतिका कारण सेवा सञ्चालनमा चुनौती थपिएको संस्थाले जनाएको छ।

अध्यक्ष बाँस्तोलाले आगामी दिनमा पनि शुद्ध, सुरक्षित र गुणस्तरीय खानेपानी सेवा विस्तार गर्दै प्रविधिमैत्री र उपभोक्तामुखी सेवा प्रदान गर्न संस्था प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्