काठमाडौं, १९ साउन । नवजात शिशुलाई जन्मेको एक घण्टाभित्रै आमाको दूध खुवाउने र ६ महिनासम्म आमाको दूध मात्र खुवाउने अभ्यासमा नेपाल अझै पछाडि रहेको स्तनपान परामर्शदाता संस्कृति सुवेदीले बताउनुभएको छ ।
विश्व स्तनपान सप्ताहका अवसरमा स्तनपानको वर्तमान अवस्था र चुनौतीबारे जानकारी दिँदै सुवेदीले नेपालमा ९९ प्रतिशत बालबालिकाले जीवनको कुनै न कुनै समयमा आमाको दूध पाए पनि जन्मेको एक घण्टाभित्र स्तनपान गराउने दर ५५ प्रतिशतमा मात्र सीमित रहेको बताउनुभयो ।
नेपाल स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्याङ्क उद्धृत गर्दै उहाँले ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउने दर पनि घटिरहेको बताउनुभयो । सन् २०११ मा ७० प्रतिशत रहेको यस्तो दर अहिले ५६ प्रतिशतमा झरेको उहाँको भनाइ छ ।
सुवेदीका अनुसार स्तनपानको अभ्यास कमजोर हुनुमा आमालाई मात्र जिम्मेवार ठहर गर्न मिल्दैन । कामकाजी आमाको संख्या बढ्दै जानु, कार्यस्थलमा स्तनपान गराउने उचित व्यवस्था नहुनु, पर्याप्त सुत्केरी बिदाको अभाव तथा परिवारबाट आवश्यक सहयोग नपाउनुजस्ता कारणले पनि स्तनपानमा असर परिरहेको छ ।
उहाँले बजारमा सहज रूपमा उपलब्ध हुने फर्मुला दूध तथा आमाको दूधको विकल्पका रूपमा प्रचार गरिने सामग्रीले पनि स्तनपानको अभ्यासमा असर पार्न सक्ने बताउनुभयो । आमाको दूधजस्तै फाइदाजनक हुने दाबी गर्दै गरिने भ्रामक प्रचार नियन्त्रण गर्न सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने उहाँको सुझाव छ ।
‘आमाको दूध बच्चाको पहिलो खोप हो’
स्तनपान परामर्शदाता सुवेदीले आमाको दूध बच्चाका लागि पोषणको स्रोत मात्र नभई रोगसँग लड्ने क्षमता विकास गर्ने महत्वपूर्ण आधारसमेत भएको बताउनुभयो ।
आमाको दूधले शिशुलाई पखाला, निमोनियालगायतका संक्रमणबाट जोगाउन सहयोग गर्ने भन्दै उहाँले जन्मेको पहिलो घण्टामै स्तनपान सुरु गर्नु अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै, स्तनपान गराउने आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने उहाँले बताउनुभयो । स्तनपानले आमामा स्तन तथा अण्डाशयको क्यान्सरको जोखिम घटाउन सहयोग गर्ने उहाँको भनाइ छ ।
स्वास्थ्य संस्थादेखि परिवारसम्म जिम्मेवार बन्नुपर्ने
सुवेदीले गर्भावस्थादेखि नै महिलालाई स्तनपानका विषयमा आवश्यक परामर्श दिनुपर्ने बताउनुभयो । स्वास्थ्य संस्थामा चिकित्सक तथा नर्सले स्तनपानको सही तरिका सिकाउने र सुत्केरी आमालाई आवश्यक सहयोग तथा हौसला प्रदान गर्नुपर्ने उहाँको सुझाव छ ।
शल्यक्रियामार्फत बच्चा जन्माउने क्रम बढेकाले कतिपय अवस्थामा जन्मेको एक घण्टाभित्र स्तनपान गराउन कठिनाइ हुनसक्ने भए पनि स्वास्थ्यकर्मीले सकेसम्म छिटो स्तनपान सुरु गराउन प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो ।
परिवारले पनि सुत्केरी आमालाई पोषिलो खाना, पर्याप्त आराम र मानसिक सहयोग उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ ।
कामकाजी आमाका लागि सहज वातावरण आवश्यक
काम गर्ने आमाहरूका लागि कार्यस्थलमा स्तनपान गराउने छुट्टै कोठा, कामको समयमा आवश्यक सहजता र पर्याप्त सुत्केरी बिदाको व्यवस्था हुनुपर्ने सुवेदीले बताउनुभयो ।
कानुनमा व्यवस्था भए पनि व्यवहारमा धेरै कार्यस्थलमा यस्ता सुविधा प्रभावकारी रूपमा लागू नभएको भन्दै उहाँले सरकारी तथा निजी क्षेत्रका रोजगारदातालाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो ।
विश्व स्तनपान सप्ताहको अवसरमा आमालाई मात्र स्तनपानको जिम्मेवारी थोपर्नुभन्दा परिवार, स्वास्थ्य संस्था, कार्यस्थल र सरकार सबैले सहयोगी वातावरण निर्माण गर्नुपर्ने सन्देश दिन आवश्यक रहेको सुवेदीले बताउनुभयो ।






