झापा, ३० जेठ । झापाको बुद्धशान्ति गाउँपालिकाकी सिमरन पौडेल झापा जिल्लास्तरीय निबन्ध प्रतियोगितामा प्रथम हुन सफल भएकी छन्। बिर्तामोडस्थित निता भेटवाल स्मृति प्रतिष्ठान नेपालद्वारा आयोजित प्रतियोगितामा उत्कृष्ट निबन्ध प्रस्तुत गर्दै उनले नगद ७० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेकी हुन्।
सरस्वती माध्यमिक विद्यालय, बुद्धशान्तिमा कक्षा ९ मा अध्ययनरत सिमरनले ‘वर्तमान अशान्त विश्वमा बुद्धका उपदेशको सान्दर्भिकता’ विषयमा उत्कृष्ट लेखन प्रस्तुत गर्दै पहिलो स्थान हासिल गरेकी हुन्।
प्रतियोगितामा भद्रपुरस्थित वीरेन्द्र माध्यमिक विद्यालयकी छात्रा सफलता फुयाल दोस्रो भइन्। उनले नगद ५० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरिन्। त्यस्तै, गौरादहको स्कुलचौन माध्यमिक विद्यालयका यमन न्यौपाने तेस्रो हुँदै नगद ३० हजार रुपैयाँसहित सम्मानित भए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अन्य १२ जना विद्यार्थीलाई सान्त्वना पुरस्कारस्वरूप जनही ७ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो।
दुई चरणमा सम्पन्न प्रतियोगिताका विजेताहरूलाई शनिबार बिर्तामोडमा आयोजित विशेष समारोहबीच पुरस्कार वितरण गरिएको हो।
प्रतिष्ठानका अध्यक्ष उमानाथ ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डा. रेशबहादुर बस्नेत, वरिष्ठ अधिवक्ता लीला उदासी, साहित्यकार पुण्य खरेल, प्राध्यापक डा. सन्ध्या बस्नेत, प्राध्यापक डा. गंगाप्रसाद अधिकारी तथा मेची बहुमुखी क्याम्पसका प्रमुख देवीप्रसाद आचार्यलगायतले विजेता विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।
प्रतियोगिताले विद्यार्थीहरूमा लेखन कला, चिन्तन क्षमता र बौद्ध दर्शनप्रतिको समझ विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकको भनाइ छ।
प्रतिष्ठानका संरक्षक विष्णु भेटवालले छोरी निताको अन्तिम इच्छाअनुरुप नै अतिविपन्न परिवारका छात्र तथा छात्राहरुको अध्ययनमा समेत सहयोग गर्दै आएको जानकारी दिए ।
उनले विपन्न परिवारका पढ्न चाहेर पनि नसकेका विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गराउन सहयोग साथै अगाडि पढ्ने भए थप समन्वय गर्ने र गरिँदै आएको बताए ।
ब्रेन ट्युमरका कारण अकालमा ज्यान गुमाएकी छोरीको स्मृतिमा उनका बुवाआमाले प्रतिष्ठान स्थापना गरेका हुन् । प्रतिष्ठानको सहयोगमा बिर्तामोड–७ मा रहेको बेल्स मोडल स्कुलमा १० जना विद्यार्थी अध्ययनरत रहेको सोही विद्यालयका प्रिन्सिपल तारा प्रसाईंले जानकारी दिए ।








